काठमाडौं । सहकारी रकम हिनामिनाबारे संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको नेपाली कांग्रेसले सडक आन्दोलन गर्ने भएको छ।
बुधबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति र संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो।
सहकारी प्रकरणमा ससदीय छानबिन समिति गठनको माग गर्न सदन र सडकबाट सहकारी पीडितको पक्षमा आवाज उठाउने निर्णय गरिएको केन्द्रीय सदस्य डिला संग्रौलाले जानकारी दिइन्। भृकुटीमण्डपमा आन्दोलन गर्ने पनि संग्रौलाले बताइन।
त्यसपछि ठगी भएका ठुला सहकारी रहेका पोखरा, बुटवलमा आन्दोलन गर्ने उनको भनाइ छ। सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै सदनमा अवरोध गर्दै आएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सत्ता पक्षका नेताहरू पनि संसदीय छानबिन समिति गठनमा सहमत भए पनि यसको कार्यादेशबारे सत्ता र प्रमुख प्रतिपक्षी कांग्रेसबीच सहमति नहुँदा संसदीय छानबिन समिति गठन भएको छैन।
सत्ता पक्षले पेलेरै सदन चलाएको भन्दै प्रतिपक्षी कांग्रेसभित्र असन्तुष्टि पनि छ। साथै सहकारी प्रकरणलाई सरकारले गम्भीर रूपमा नलिएको भन्दै सदनबाट आवाज र सडकबाट आन्दोलन गरिनुपर्ने माग पनि कांग्रेसभित्र छ।