बागलुङ । सालझण्डी ढोरपाटन सडक अन्तर्गत बुर्तिबाङदेखि ढोरपाटन शिकार आक्षण जोड्ने २२ किलोमिटर सडक निर्माणमा ढिलासुस्ती भएको छ । ३ वर्षभित्र सक्नुपर्ने सम्झौता अनुसार कामको जिम्मा लिएको स्वछन्द्र ओमबुद्ध जेबी कन्सक्ट्रसन निर्माण सेवाले विभिन्न बहाना बनाउँदा काममा ढिलासुस्ती भएकाे हाे ।
सडक निर्माणमा ढिलासुस्ती भएपछि ढोरपाटन नगरपालिका काबा प्रमुख धनबहादुर कायतको नेतृत्वमा गएकाे टाेलीले आयोजना प्रमुखलाई भेटेर ज्ञापनपत्र बुझाएकाे छ । ३ वर्षमा काम सक्नुपर्ने सम्झौता भएपनि हालसम्म ३० प्रतिशत मात्रै काम भएकाे छ ।
सडक निर्माणको काम तत्काल गर्नुपर्ने वा ठेक्का रद्द गरी थप प्रक्रिया अगाडी बढाउनुपर्ने माग राख्दै आयोजना प्रमुख अञ्जु परियारलाई ज्ञापनपत्र बुझाइएको ढोरपाटन नगरपालिकाका कार्यपालिका सदस्य दीलिप कुमार थापाले जानकारी दिए ।
बुर्तिबाङदेखि ढोरपाटन शिकार आक्षणसम्मकाे सडक निर्माण कम्पनीले समयमा काम नसक्दा बोबाङ, अधिकारीचौरलगायतका नागरिकले सास्ती भोग्नु परेको छ ।
ज्ञापनपत्र बुझ्दै सालझण्डी सन्धिखर्क ढोरपाटन सडक अायोजना प्रमुख परियारले निर्माण कम्पनीलाई पटक पटक ताकेता गरेपनि अटेर गर्ने र ढाट्ने काम गरेकाले काममा ढिलासुस्ती भएकाे स्वीकार गरिन्। यता स्वछन्द्र ओमबुद्ध जेबि कन्सक्ट्रसन प्रतिनिधि दिपेश लामाले जेठ १० गतेदेखि निरन्तर काम प्रतिबद्धता व्यक्त गरेका छन् ।
ज्ञापन पत्र बुझाउन बागलुङको ढोरपाटन नगरपालिकाका काबा प्रमुख धनबहादुर कायत, नेकपा एमालेका प्रतिनिधि गणेशकुमार थापा , नेकपा माओवादी केन्द्रका भिम गौतम , दीलीपकुमार थापा, राष्ट्रिय जनमोर्चाका दिपक थापा, वडा अध्यक्ष भेकबहादुर खत्री, दिपेन्द्र पुन्, उमेशकुमार बुढा, स्थानीय रमबहादुर घर्ती लगायतको टोली आयोजनाको कार्यालयमा पुगेको थियो ।