काठमाडौं । फोर्ब्स म्यागेजिनले सार्वजनिक गरेको ३० वर्ष मुनिका ३० जनाको सूचीमा दुई नेपाली छनोट भएका छन् । फोर्ब्सले बिहीबार सार्वजनिक गरेको फोर्ब्स ३० अन्डर ३० एसिया २०२४ सूचीमा ‘ह्याप्पी माइन्ड्स’की संस्थापक श्रीया गिरी र ‘भेगन डायरी नेपाल’की संस्थापक काजोल सेठिया छनोट भएका हुन् ।
नेपाली डिजिटल मेन्टल हेल्थ प्लेटफर्म ‘ह्याप्पी माइन्ड्स’की संस्थापक गिरीले समाजमा पारेको प्रभावलाई मध्यनजर गर्दै फोर्ब्सले एसियाका ३० प्रभावशाली व्यक्तिको सूचीमा समावेश गरेको हो । गिरीले लण्डन साउथ बैंक युनिभर्सिटीबाट ‘एमएससी इन्टरनेसनल बिजनेस मेनेजमेन्ट’मा मास्टर डिग्री हासिल गरेकी छिन् ।
अध्ययन पूरा गरिसकेपछि उनी नेपाल फर्किएर ह्याप्पी माइन्ड्स सञ्चालन गर्दै आएकी छिन् । फोर्ब्स ‘३० अन्डर ३० एसिया’मा छनोट भएपछि गिरीले सामाजिक सञ्जाल लिङ्क्डइनमा पोस्ट राख्दै नेपाल फर्किएर ह्याप्पी माइन्ड्स निर्माण गर्ने निर्णयले यो स्थानमा पुर्याएको प्रतिक्रिया दिएकी छिन् ।