काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूलाई बोलाएर राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका रहेकाले सहयोग गर्न आग्रह गरेका छन् ।
नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम घोटाला प्रकरणमा अनुसन्धान हुनुपर्ने माग राख्दै आएको छ । त्यसका लागि संसदीय समिति गठन गर्नुपर्ने मागसहित कांग्रेसले संसदमा अवरोध गर्दै आएको छ । तर, सत्ता पक्ष त्यसका लागि तयार नहुँदा संसद अवरुद्ध छ ।
यसैबीच राष्ट्रपति पौडेलले आज सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्ने कार्यक्रम छ । उक्त बैठक पनि अवरुद्ध पार्ने कांग्रेसको संकेतपछि प्रधानमन्त्रीले कांग्रेस नेताहरूलाई बोलाएर सहयोग गर्न माग गरेका हुन् ।
प्रधानमन्त्रीसँगको छलफलमा कांग्रेस महामन्त्री गगन थापा र रमेश लेखक बालुवाटार पुगेका थिए । छलफल सकेर बाहिरिँदै गर्दा लेखकले प्रधानमन्त्रीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि आफूहरूसँग सहयोग मागेको जानकारी दिए ।
प्रचण्डले सहकारीको रकम ठगीको समस्यामा आफू गम्भीर रहेको र समाधानका लागि प्रयास गरिरहेको बताएको लेखकले जानकारी दिए ।