विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक हप्ताभित्रै प्रदेशसभाबाट विश्वासको मत लिने बताएका छन् । बिहीबार साँझ शपथ ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री कार्कीले हप्तादिनभित्र नै सरकारलाई पूर्णता दिएर विश्वासको मत लिने जानकारी दिए ।
उनले प्रदेशका महत्वपूर्ण समस्यालाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम ल्याउने बताए । ‘जनताका असन्तुष्टिलाई चिर्ने गरी नीति तथा कार्यक्रममा ल्याउँछौं,’ उनले भने ‘प्रदेश संरचनाप्रति जनतामा रहेको निराशालाई उठाउने गरी काम गर्छौं ।’
प्रदेश सरकारको महसुस हुनेगरी कार्यक्रम ल्याएर निराशा चिर्ने उनले बताए । उनले सबै दललाई साथमा लिएर हिँड्ने पनि उल्लेख गरे ।
दुई दलमात्रै सरकारमा सहभागी हुने हो ? प्रश्नमा मुख्यमन्त्री कार्कीले सबै दललाई एकसाथ लिएर हिँड्ने बताए । एकीकृत समाजवादी र जसपालाई सरकारमा सहभागी गराउने उनले संकेत पनि गरेका छन् । ‘अब एक–दुई दिनभित्रै दुई दल यही सरकारमा थपिन्छन्,’ उनले भने ‘अन्यलाई पनि सरकारमा सहभागी हुन आग्रह गर्छौं ।’ प्रदेशको विकासका लागि सबैसँग सहकार्य गर्ने उनले बताए ।
६–६ महिनामा सरकार फेर्दा संघीयता र प्रदेश सरकारप्रतिको वितृष्णा बढ्दैन भन्ने प्रश्नमा मुख्यमन्त्री कार्कीले केन्द्रमा पनि यही प्रक्रिया चलिरहेको बताए । मुख्यमन्त्रीमा माओवादी र एमालेको आलोपालो गर्ने गरी सहमति भएको भनेर नेताहरूले दाबी गरे पनि कार्कीले यही सरकार अब साढे तीन वर्षसम्म टिक्ने दाबी गरे ।