काठमाडौं । माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ परेका छन् । माओवादीका पूर्वकमाण्डर खाममाथि कोटेश्वरका व्यवसायी रामहरि श्रेष्ठको अपहरणपछि हत्याको आरोप छ । १५ वर्षदेखि फरार सूचीमा रहेका उनलाई ठमेलबाट प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
यही प्रकरणमा पक्राउ परेका अर्का माओवादीका कमाण्डर गोविन्दबहादुर बटाला भने पक्राउ पछि रिहा भएका थिए । खाम माओवादीका राष्ट्रिय सुरक्षा विभाग सदस्य हुन् ।
के थियो घटना ?
व्यवसायी रामहरि श्रेष्ठको घरमा माओवादीको तत्कालीन ‘जनमुक्ति सेना’ तेस्रो डिभिजनको सम्पर्क कार्यालय भाडामा राखिएको थियो । कार्यालयबाट २०६४ चैत १४ मा १७ लाख नगदसहित हतियार चोरी भएको बताइएको थियो । सामान हराएको भन्दै छानबिनका लागि तेस्रो डिभिजन कार्यालयले गोविन्दबहादुर बटालालाई खटाएको थियो ।
उनी २०६५ वैशाख ७ मा काठमाडौं आई रामहरि श्रेष्ठ, केशव अधिकारी, गंगाराम थापालाई सोधपुछ गरी फर्केका थिए । ‘जनमुक्ति सेना’ का कमान्डर कालिबहादुर खामको आदेशले २०६५ वैशाख १५ मा राति २ बजे श्रेष्ठको घरमा सपरिवार सुतिरहेको बेला बटाला पुगेका थिए। श्रेष्ठलाई चितवन शक्तिखोरमा पुर्याई बटालाले सोधपुछ गरेका थिए ।
उनले श्रेष्ठ, केशव र गंगारामलाई थुनेर राखेका थिए। वैशाख २८ राति श्रेष्ठको टाउको, छाती, तिघ्रामा कुटेर मरणासन्न पारिएको थियो । काठमाडौं आउँदै गर्दा भालुढुंगामा श्रेष्ठको मृत्यु भएको भन्दै लास तन्नामा पोको पारी ढुंगा बाँधी नारायणी नदीमा फालिएको थियो । लास फालेको स्थानसम्म डिभिजनकै बोलेरो गाडीमा श्रेष्ठलाई राखेर बटालाको नेतृत्वमा लास फालिएको सरकारी वकिलको निवेदनमा दाबी छ।