काठमाडौं । सत्तारूढ नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)का अमृत साइन्स क्याम्पस (अस्कल) इकाइ कमिटी अध्यक्ष जितेन्द्र भण्डारी र उपाध्यक्ष विश्राम शर्मामाथि आक्रमण भएको छ । भण्डारी र शर्मामाथि १०/१५ जनाको एक समूहले आइतबार साँझ आक्रमण गरेको अखिल (क्रान्तिकारी)ले जनाएको छ ।
क्रान्तिकारीको उपत्यका विशेष प्रदेश समितिले विज्ञप्ति जारी गर्दै एमालेनिकट अनेरास्ववियूको संरक्षणमा रहेको गुण्डा समूहले आक्रमण गरेको आरोप लगाएको छ ।
समितिका अध्यक्ष सञ्जिव रेग्मीले विज्ञप्ति जारी गर्दै एमालेनिकट अनेरास्ववियूको राजनीतिक संरक्षणमा रहेका कमलराज जोशीको योजनामा पंकज पाण्डेको नेतृत्वमा १०/१५ जनाको समूहले ज्यान मार्ने नियतले साङ्घातिक आक्रमण गरेको जनाएका छन् ।
यस्ता आपराधिक घटना हुँदा राज्यका निकायहरू मूकदर्शक बस्नु आफैंमा रहस्यमयी र घोर आपत्तिजनकसमेत रहेको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।