काठमाडौं । पाल्पामा रूखले च्यापेर शनिबार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तानसेन नगरपालिका ५ कैलासनगरका २० वर्षीय भुवन सिंजाली रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए।
बुटवलबाट तानसेन आउँदै गरेका उनी तानसेन नगरपालिका ८ जरेपीपलस्थित सिद्धार्थ राजमार्ग छेउमा रहेको प्रतीक्षालयमा ओत लिएका थिए। बेलुकीपख एक्कासी रूख ढलेर च्यापेको श्रेष्ठले बताए।
गम्भीर घाइते भएका सिंजालीलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए।
यसैगरी डोटीमा दाउरा काट्ने क्रममा रूखले च्यापिएर एक बालकको मृत्यु भएको छ। सायलगाउँपालिका(२ खरगडाका मदन बोहराका १४ वर्षीय छोरा तिलक बोहराको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब निरीक्षक नारायणसिं नेगीले जानकारी दिए।
उनका अनुसार सायल गाउँपालिका ५ पटकानीस्थित मामाघर बस्दै आएका बोहरा रानीवन जङ्गलमा दाउराका लागि बाँझको रूख काट्ने क्रममा दिउँसो १२ बजे सोही रूखले च्यापिएर गम्भीर घाइते भएका थिए। घाइते बोहरालाई उपचारका लागि जिल्ला अस्पताल डोटी ल्याइएकोमा दिउँसो ३ बजे डाक्टरले मृत घोषणा गरेका थिए।