काठमाडौं । काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशुली नदीमा खसेको छ । बा २ झ ४१९६ नम्बरको ट्याक्सी शनिबार बिहान चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित पृथ्वी राजमार्गबाट नदीमा खसेको इलाका प्रहरी कार्यालय मुग्लिङले जनाएको छ ।
दुर्घटनामा पाँच जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनका इन्स्पेक्टर विशाल तामाङले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा एक बालिका, २ पुरुष र २ महिला छन् ।
मृतकहरूको पहिचान खुलिनसकेको उनले बताए । ट्याक्सीमा कति जना सवार थिए भन्ने खुलिनसकेको उनले बताए । थप एक जना सवार रहेको हुनसक्ने प्रहरीको अनुमान छ । थप खोजी कार्य भइरहेको तामाङले बताए । अहिले घटनास्थलमा उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् ।