काठमाडौं । गत सोमवार होली खेल्ने क्रममा केलालीको चिसापानीस्थित कर्णाली नदीको पुलबाट फाल हानेर नदीमा बेपत्ता भएका युवा लोकेन्द्र शाहीको शव भेटिएको छ । उनको शव चारदिनपछि बिहीवार फेला परेको हो ।
टीकापुर नगरपालिका–२ को सन्कट्टी घाटमा शाहीको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।
सोमवार दिउँसो कर्णाली पुलबाट हाम फालेका १७ जनामध्ये शाही मात्र नदीमा डुबेर बेपत्ता भएका थिए । हाम फाल्ने अन्य व्यक्ति पौडी खेलेर बाहिर निस्केका थिए । पुलबाट हाफ फाल्नुअघि उनीहरूले चिसापानीमा मदिरा सेवन गरेको खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पुलबाट कर्णालीमा हाम फाल्ने सबैजनाले शरीरको माथिल्लो भागको लुगा फुकालेका थिए । प्रहरीले उनीहरूलाई रोक्न खोजे पनि सामूहिक तस्वीर खिच्ने भन्दै चिसापानी बजारबाट पुलतर्फ निस्किएका थिए ।