काठमाडौं । संघीय संसदको दुवै सदनको बैठक आज बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधि सभा बैठक बिहान ११ बजे र राष्ट्रिय सभा बैठक सवा ११ बजेदेखि सुरू हुनेछ।
प्रतिनिधि सभा बैठकमा मन्त्रालयगत प्रश्नोत्तर , अन्तर्राष्ट्रिय सौर्य संगठन (आइएसए)को स्थापनासँग सम्बन्धित सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतासम्बन्धी प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नको अर्थमन्त्रीले जबाफ दिने लगायतका कार्यसूची छन्।
त्यस्तै राष्ट्रिय सभा बैठकमा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोना गेल्जेन शेर्पाले राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८० माथि छलफल गरियोस्’, भन्ने प्रस्ताव गर्ने कार्यसूची छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘अनुगमन तथा मूल्यांकन विधेयक, २०७६ माथि प्रतिनिधि सभाबाट भएको संसोधनमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव र ‘अनुगमन तथा मूल्यांकन विधेयक, २०७६ लाई प्रतिनिध सभाबाट भएको संसोधन स्वीकार सहित पुनः पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
राष्ट्रिय सभाको आजकै बैठकम अर्थमन्त्री वर्षमान पुनले ‘सुरक्षित कारोबार (पहिलो संसोधन)’ विधेयक २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्ने कार्यसूची छ।