‘बस एक्कासी बजारियो, उठेर चिच्याउँदै काखको छोरी खोज्न थालेँ’

तीन महिनाकी छोरी ज्ञानु

कास्की । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३ की २८ वर्षीया सरिता ढकाल खड्का पोखराको मणिपाल शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेकी छन् । रुकुमबाट काठमाडौंका लागि छुटेको खड्का चढेको यात्रुवाहक बस सोमबार साँझ बागलुङको निसीखोला–६ मा दुर्घटना भएको थियो । सरिताको ढाड र टाउकोमा चोट लागेको छ ।

सरिता तीन महिनाको छोरी ज्ञानु, ससुरा ६२ वर्षीय हर्कबहादुर केसी र सासू ५५ वर्षीया लिलासहित काठमाडौं जाँदै थिए । घरबाट खाना खाएर सोमबार बिहान ९ः३० बजेतिर चारै जना बसमा चढेका थिए । मंसिरमा शिक्षक पेसाबाट सेवानिवृत्त सरिताका ससुरा हर्कबहादुरको काठमाडौंमा पेन्सन पट्टाको काम मिलाउनु थियो । सासूले भनेपछि सरिता पनि छोरी लिएर जान तयार भइन् । सरितालाई पेटको समस्या भएकाले यही मेसोमा राजधानीमा राम्रो उपचार गर्ने योजना थियो ।

बस मध्यपहाडी राजमार्गमा आफ्नै गतिमा हिँडिरहेको थियो । साँझ पर्दै थियो । रुकुम र बागलुङको सीमा पातीहाल्नेमा खाजा खान बस रोक्ने यात्रुहरूको अनुमानविपरीत बस नरोकिइकन अघि बढ्यो । यात्रुहरू आफ्नै तालमा कोही निदाइरहेका थिए भने कोही मोबाइल हेरिरहेका थिए । सरिता पनि छोरीलाई काखमा सुताएर निदाइरहेकी थिइन् । निसीखोलाको जाउलेपानीमा आइपुगेपछि बसका केही यात्रु गाडी गयो, गयो भनेर एक्कासि चिच्याउन थाले ।

सरिता पनि झल्यास्स भइन् र काखको छारीलाई च्याप्प समाइन् । बस एक बल्डङ खाएको सरितालाई याद छ । मणिपाल अस्पतालको आकस्मिक कक्षबाट खड्काले भनिन्, “एक्कासि बस गयो गयो भनेर सबै चिच्याए, मलाई बोल्न आएन, छोरीलाई च्याप्प समाएँ, बस एक्कासि बजारियो, त्यही बेला म बीचमा अड्किएको रहेछु, होसमा आउँदा छोरी काखमा थिइनन्, बस तल थियो, उठेर छोरी(छोरी भनेर चिच्चाएँ ।”

काखमा छोरी नदेखेपछि सरिता चिच्याइन् । भान्जाले माथि छन् भनेपछि सरिता सकी नसकी उठेर छोरी भएको ठाउँमा पुगिन् । छोरी रोइरहेकी थिइन् । भाञ्जाको सहयोगले माथि सडकमा निस्किइन् । बुर्तिबाङमा सामान्य उपचारपछि बागलुङ जिल्ला अस्पताल पठाएकोमा अहिले सरिता, छोरी, सासूससुरासहित पाँचजनाको मणिपालमा उपचार भइरहेको छ । दुर्घटना कसरी भयो भन्ने उनलाई केही जानकारी छैन । बस एक्कासि सडकबाट तल खसेको मात्र उनलाई थाहा छ । पछि घाइतेहरूले बस तीव्र गतिमा भएको बताएको सरिताले बताइन् ।

अहिले सरितालाई काठमाडौं जान नहिँडेको भए हुने रहेछ भन्ने लागिरहेको छ । “किन काठमाडौं जान लागेँ हुँलाजस्तो भइरहेको छ,” उनले भनिन्, “ठूलो भाग्यले बाँचियो, जिन्दगीमा यस्तो पनि भोग्नुपर्ने रहेछ ।” दुर्घटनामा परेका सरिता र छोरीको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ ।

उनका ससुरा हर्कबहादुर, सासू लिला र सिन्धुपाल्चोकका देवेन्द्र रिजालको अवस्था गम्भीर रहेको अस्पतालका चिकित्सक डा नवराज बस्ताकोटीले जानकारी दिए । उनका अनुसार मणिपालमा पाँचजनाको उपचार भइरहेकामा गम्भीर घाइतेको मेरुदण्ड र कम्मरको हड्डी भाँचिएको छ । बागलुङको निसीखोला बस दुर्घटनामा नौजनाको मृत्यु भएको छ भने घटनामा २८ जना घाइते छन् । घाइतेहरूको पोखरासहित बागलुङका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । रासस

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित