ढोरपाटन । बागलुङको निसीखोला दुर्घटनामा परी घाइते भएका २५ जनालाई धौलागिरि अस्पताल बागलुङमा पठाइएको छ । पश्चिम रुकुमदेखि काठमाडौंका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस आज साँझ सवा ५ बजे बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो ।
बागलुङमा भएको बस दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा चार पुरुष र एक नाबालिकासहित ५ महिला रहेका छन् । मृतक कसैको पनि सनाखत नभएको विकको भनाइ छ ।
बुर्तिबाङमा सबै घाइतेको उपचार सम्भव नभएपछि धौलागिरि अस्पताल बागलुङमा पठाइएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा नविन्द्र ढकालले जानकारी दिए । घाइतेलाई एम्बुलेन्स तथा गाडी व्यवस्थापन गरी बागलुङ पठाएको उनको भनाइ छ ।
बस सडकदेखि एक सय ५० मिटर तल खसेको छ । प्रहरी निरीक्षक विकका अनुसार सातजनाको घटनास्थलमै मृत्यु भएको र दुई जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको उनले जानकारी दिए । मृत्यु हुने अधिकांश रुकुमका रहेको हुँदा घटनास्थलमै मृत्यु भएका सातजनाको शव सङ्कलन गरी रुकुम पठाइएको उनको भनाइ छ ।