काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्राविधिक अधिकृत निर्मलप्रसाद सिटौलाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनले गैरकानुनी व्यापार व्यवसाय गरी भ्रष्टाचार गरेको ठहर गदै अख्तियारले विशेष अदालत काठमाडौंमा आइतबार मुद्दा दायर गरेको हो । दायर गरिएको मुद्दामा सिटौलासँग एक करोड ६१ लाख २० हजार चार रुपैयाँ बिगो दाबी गरिएको छ ।
नेपाल टेलिकममा कार्यरत स्थायी कर्मचारी इन्जिनियर सिटौलाले कार्यालयमा हाजिर गर्नुका साथै छुट्टै हिमडुङ एन्ड थोकर कन्ट्रक्सन् कम्पनीमा समेत कार्य गरी व्यापार व्यवसाय गरेको उजुरी अख्तियारमा परेको थियो ।
उजुरीमा उनले सूर्यविनायक–धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनामा ठेक्का लिई प्रतिनिधिको रूपमा हस्ताक्षर समेत गरी भ्रष्टाचार गरेको उल्लेख थियो । उजुरी परेपछि अख्तियारले सिटौलामाथि अनुसन्धान सुरु गरेको थियो ।
अनुसन्धान हुँदा नेपाल टेलिकमका प्राविधिक अधिकृत सिटौलाले कानुनी प्रावधानविपरीत नेपाल टेलिकमको विनास्वीकृति निजी कम्पनी हिमडुङ एन्ड थोकर कन्ट्रक्सन् कम्पनीको सेयर खरिद गरी संस्थापक सेयरधनी बनेको पाइएको अख्तियारले जनाएको छ ।