काठमाडौं । साउदीमा गैरकानुनी रूपमा बस्दै आएका २ हजार बढी नेपालीले बहिर्गमन (एक्जिट) भिसा पाएका छन् । रियादस्थित नेपाली दूतावासका प्रथम सचिव टोपनारायण गिरीका अनुसार दूतावासको पहलमा २०२३ मा २ हजार ९३ जना नेपालीले एक्जिट भिसा पाएका हुन् ।
आवासीय अनुमतिपत्र (इकामा) नबनाएका तथा नवीकरण नगरेकालाई स्वदेश फर्किने भिसा आवश्यक पर्छ । त्यसका लागि आवश्यक कागजातसहित दूतावासमा सम्पर्क गर्नुपर्छ । एक्जिट भिसा लागेको ६० दिनभित्र साउदी छोड्नुपर्ने कानुनी व्यवस्था छ । एक्जिट भिसाको प्रक्रिया निःशुल्क हुने दूतावासले जनाएको छ ।
तर, एक्जिट भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट भने व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्ने हुन्छ । साउदीमा इकामाको म्याद सकिएको ३ महिनाभन्दा बढी भइसकेको अवस्था छ भने एक्जिट भिसाका लागि आवेदन दिन सकिनेछ । त्यस्तै, साउदी आएको ३ महिनाभन्दा बढी समयसम्म पनि इकामा नबनाइदिएकाले समेत एक्जिट भिसाका आवेदन दिन सकिने सचिव गिरीले बताए ।
त्यस्तै, हुरूब लागेका व्यक्तिले समेत दूतावासबाट एक्जिट भिसा प्रोसेसिङ गर्न सकिँदैन । इकामाको म्याद भएकाको एक्जिट भिसा प्रोसेसिङ गर्न नमिल्ने दूतावासले प्रस्ट पारेको छ । त्यस्तै, कुनै केस वा जरिमाना तिर्नुपर्ने बाँकी छ भने त्यो क्लियर नहुँदासम्म एक्जिट भिसा प्राप्त गर्न नसकिने दूतावासले जनाएको छ । दूतावास आफैंले एक्जिट भिसा दिँदैन ।
उसले त त्यसका लागि प्रोसेस गरिदिने मात्र हो । एक्जिट भिसा दिने सम्पूर्ण अधिकार साउदीको अध्यागमन (जवाजत) अफिससँग हुन्छ । त्यसैले दूतावासमा आएर फारम भरेपछि एक्जिट भिसा लागिहाल्छ भन्ने कुनै ग्यारेन्टी नहुने दूतावासले जनाएको छ ।
जुन ठाउँबाट आफ्नो इकामा बनेको हो त्यही ठाउँको श्रम कार्यालय र अध्यागमन कार्यालयबाट एक्जिट भिसाका लागि प्रोसेसिङ गर्नुपर्ने साउदी नियम रहेको छ । तसर्थ, एक्जिट भिसाका लागि दूतावासमा आउनुभन्दाअघि अनिवार्य रूपमा आफ्नो इकामा कहाँबाट बनेको हो यकिन गर्न समेत दूतावासले सबैमा अनुरोध गरेको छ ।