प्रसिद्ध धार्मिकस्थल उत्तरगंगा ढोर बराहबारे रोचक किम्बदन्ती

पशुपति अधिकारी ।
उत्तरगंगा ढोरबराहको थान बागलुङ जिल्लाको ढोरपाटन उपत्यकामा पर्दछ । ढोरपाटन शिकार आरक्ष भित्रपर्ने यो उपत्यकाको दक्षिणमा रहेको सुर्तिवाङ्ग पहाडको उत्तरतर्फबाट उत्तरगंगाको र दक्षिणपट्टी रहेको रुद्रतालबाट रुद्रवतिगंगाको उत्पति भएको छ । रुद्रतालमा सतिदेवीको रुद्र अर्थात् घाटी पतन भएको हुँदा रुद्रतालबाट जलप्रबाह भएर रुद्रबतिगंगा, बडिगाड खोला हुँदै कालिगण्डकीमा मिसिएिको ठाउँलाई रुद्रबेणी अर्थात् रुरुक्षेत्र भनिन्छ ।

सुर्तिवाङ्ग पहाडको देउराली भन्ज्याङ्गमा रहेको ठाँडो ढुङ्गामा साउनको पहिलो हप्ता गाईको दुधले धार दिएपछि मात्रै वर्षात्को समयमा सुर्तिवाङ्गमा चरनको लागि लगेका गोठमा खिर, कुराउनी र ताईरोटी पकाउन पाइन्छ । कुनै वर्ष खडेरी परेमा बुढाथोकी मगर भोकै आएर धार्ने ठेका भनिने देउरालीको ठाडो ढुङ्गामा पुजा गरेको केही दिन भित्र पानीपर्ने गरेको छ ।

गुठी र पुजारीको व्यवस्था
उत्तरगंगा ढोरबराह थानको धार्मिक महत्वलाई दृष्टिगत गरी झण्डै तीन सय वर्ष पहिले नै गुठी र पुजारीको व्यवस्था गरेको देखिन्छ । त्यसका लागि बागलुङको देवीथान भन्ने ठाउँमा गुठी जग्गा र राजकुटका कमर जोगीलाई पुजारी तोकिएको थियो ।

कमर जोगी यहाँ जनैपूर्णिमामा पुजा सञ्चालन गर्न आउँदा दुवै काधँमा घण्टी भिरेर बजाउँदै आउने गर्दथे । उनले सर्वप्रथम रुद्रतालमा धजा चढाउथे । त्यसपछि देउराली थानमा आएर धजा चढाएपछि उनी काम्न थाल्थे र बुरुकबुरुक उफ्रदै उत्तरगंगा ढोरबराहको थानमा पुग्थे । त्यहाँ पुगेपछि बराहमुल भित्र रहेको बहरेगोरुलाई टिका लगाएर ढोगेपछि काम्न छाड्थे ।

भोलिपल्ट जनैपूर्णिमाका दिन बत्ति बालेर, धुप, अक्षता र धजाले ढोरबराहको पुजा गरेपछि बराहमुलका छेउमा बस्ने गर्दथे । बराहमुलमा बली दिन लाग्दा कुनै भक्तजनको साँढ मानेन भने उनले घण्टी बजाएर साँढलाई मनाउने गर्दथे । भक्तजनले बराहमुलमा पुजा गर्दा बुलबुल गरेर पानी माथि आएर फोका उठेमा ग्रहदशा राम्रा र नउठेमा ग्रहदशा राम्रा छैनन भन्ने गर्थे ।

विसं २०१४ देखि मालपोत कार्यालय, बागलुङले ढोरबराहबाट एक वर्षको दश रुपैया भेटी संकलन गर्ने गरी ठेक्का लगायो । भेटी संकलनमा ठेक्का प्रथा शुरु गरेपछि कुवँर जोगीले आठ पुस्तादेखि निरन्तर रूपमा गर्दै आएको पुजा गर्न छाडिदिए । समयमै खोजिनीति नहुँदा गुठी वापतको जग्गा पनि मासिएको छ । तर यहाँका तालुकदार मुखिया खलकका उमरा पुन र बुढाथोकी मगरले भने गुठी र पुजारीको व्यवस्था नभए पनि पुस्तौदेखि हालसम्म वर्षेनी पालैपालो भेडाको साँढको बली दिई पुजा सञ्चालन गर्दै आएका छन् ।

dhorpatan https://newskhari.com/storage/2024/03/DhorpatanDhorpatan_Hunting_Reserve_at_morning-scaled-e1710122718762.jpg

धार्मिक महत्व
उत्तरगंगा ढोरबराहको धार्मिक महत्वका बारेमा हिन्दु धर्मशास्त्रमा उल्लेख गर्नुका साथै लोककथनहरू रहेका छन् । हिन्दु धर्मशास्त्रमा एक जना निकै चतुर र बुद्धिमान कागभुसुण्डी नाम गरेका ऋषि कागको रूप धारण गरेर उत्तरगंगा ढोरबराहमा आई तपस्या गरी बसेको उल्लेख छ । यसरी जीवन बिताउँदा उनी भगवान शिवको सम्पर्कमा बसेका थिए र एक दिन भगवान शिवले माता पार्वतीलाई रामकथा सुनाउँदा उनले पनि सुनेका थिए ।

वशिष्ठ ऋषिले राजा रामलाई यही पुण्यभूमिमा आएर कागभुसुण्डीसँग शिक्षा लिएमा तिमी धर्म, अर्थ, काम, क्रोधबाट मोक्ष हुनेछौ भनी बताएका थिए । कागभुसुण्डी ऋषिले यहाँ र मुक्तिनाथ दुवै ठाउँमा तपस्या गरी बसेको भन्ने शास्त्रहरुमा उल्लेख गरेको हुँदा मुक्तिनाथ र उत्तरगंगा ढोरबराह दुई दाजुभाई हुने भन्ने लोककथन पनि रहेको छ ।

उत्तरगंगा ढोरबराहका बारेको अर्को लोककथन बली राजासँग जोडिएको छ । बली राजाले म स्वर्गको राजा हुन पाउँ भनि बाह्र वर्ष तपस्या गरेका थिए । उनको तपस्या असार मसान्तका दिन पूरा हुँदै थियो तर भगवान विष्णुले उनलाई स्वर्गको राजा हुनबाट रोक्न तपस्या भङ्ग गरी दिए ।

उनले बलि राजालाई तिमिलाई स्वर्ग मिल्दैन तर स्वर्ग जस्तै शुन्दर ठाउँ मिलाई दिन्छु भनि ढोरपाटनमा ढकमक्क फुल फुलेको समय जनैपूर्णिमाको दिन पारेर बराहको रूपमा प्रकट गराएका थिए भन्ने रहेको छ । यसरी बलि राजाको कठोर तपस्याले गर्दा उत्तरगंगा ढोरबराहको उत्पति भएको हो भन्ने धार्मिक बिश्वास रहेको छ । वलि राजाका तीन छोरीहरू मध्ये कान्छी छोरीले विवाह नगरी देवताको रूप धारण गरेर यसै स्थानमा बसेको हुँदा ढोरबराहलाई कान्छी बाहुनी पनि भन्ने गरिन्छ । तेश्रो लोककथन बहरेगोरूसँग सम्बन्धित छ ।

यहाँको देउराली भन्ज्याङ्गमा सुप्राङ्गको लाटीबराहबाट आएको बहरेगोरू र उत्तरगंगा ढोरबराहबाट गएको बहरेगोरु दुईतर्फ भएर जुँधेछन् । जुँध्दै जाँदा लाटीबराहको बहरेगोरु हारेर फर्केछ भने ढोरबराहबाट गएको बहरेगोरु जीतेर फर्केछ । बहरेगोरु जुँध्दा जमिन भत्केको हुँदा देउराली भन्ज्याङ्ग वन्न पुग्यो भन्ने किबदन्ती रहेको छ । जितेर फर्केको बहरेगोरुसँग बर माग्दा बर दिने गरेको हुँनाले ढोरवराह भनिएको हो भन्ने भनाई पनि रहेको छ ।

dhorpatan2 https://newskhari.com/storage/2024/03/DhorpatanDhorpatan_Hunting_Reserve_at_morning-scaled-e1710122718762.jpg

उत्तरगंगा ढोरबराहका बिशेषता
उत्तरगंगा ढोरबराहको थानमा भेंडाको साढँलाई बराह देवताको प्रतिक मानेर बलि दिने गरिन्छ । यहाँ उत्तरतर्फ फर्केका तीन वटा पानीका मुल रहेका छन् । यी मुलको नाम बराहमुल, सातमुलेमुल र अपुतामुल हो । सातमुलेमुललाई उत्तरगंगामुल पनि भनिन्छ । उत्तरगंगा नदिको उद्गमस्थल यीनै मुल हुन । उत्तर बाहिनी नदीलाई हिन्दु धर्मशास्त्रमा पबित्र नदी मानिन्छ । त्यसैले हिन्दु धर्माबलम्बिहरू उत्तरगंगामा नुहाउन आउने र मृत्युपछि यहि नदीमा ल्याएर जन्मकुण्डली बगाउने गर्दछन् । यहाँ सातमुलेमुलबाट निस्केको पानीबाट वाईस धारा बनाइएको छ । यी धारा वि.स. २०२६ मा तत्कालिन धौलागिरी अञ्चलाधिश सत्यनारायण झाले पच्चिस हजार रुपैयाँ दिएर बनाउन लगाएका थिए ।

सातमुलेमुल भन्दा करिब तीस मिटर पूर्वतर्फ रहेको पानीको मुललाई अपुतामुल भनिन्छ । यो मुलको पानी खाएमा सन्तान हुँदैनन भन्ने मान्यता रहेको छ। बराहमुल भित्र रहेको जुरो पलाएको, कपाल गजुल्टो परेको र खुट्टा नभएको बहरेगोरुलाई पुजा गर्ने र वर माग्ने गरिन्छ । बर मागेमा बर दिने भएकाले बहरेगोरुलाई बराह भनिएको हो भन्ने भनाई रहेको छ । छोरा नहुने दम्पतिहरू यहाँ आएर छोराको बर माग्ने गर्दछन । तर यति धेरै धार्मिक महत्व रहेको बहरेगोरुको मूर्तिको संरक्षण हुन नसक्दा वि.स २०१८ फागुनमा तिब्बती शरणार्थीले फुटालेपछि अर्को मुर्ति बनाएर पुज्ने गरिएको छ ।

वि.स २०२४/२५ सालतिर बराहमुललाई भित्र पारेर स्थानीय भीमबहादुर थकालीले मन्दिर बनाएपछि यहाँका स्थानीय झाक्रीहरूको आङ्गमा बराह उत्रेर मैले रगतको भोग खाएपछि आकाशे पानीले नुहाउनु पर्दछ । त्यसैले म छानामुनि बस्दिन भनेकाले छानो हटाएर पर्खालले मात्रै घेरेर राखिएको छ । यहाँ बर माग्ने विधि पनि अनौठो छ । यहाँ बर माग्न आउनेहरू सर्बप्रथम उत्तरगंगामुलका वाईस वटा धारामा नुहाउने गर्दछन् । त्यसपछि बराहमुलमा गएर वत्ती बालेर फुलपाती, अक्षताले बहरेगोरूलाई पुज्ने र २२ वटा धजा चढाउने गरिन्छ । त्यसपछि बराहमुलमा काक्रो चढाउने गरिन्छ र सो नपाएमा हरियो दुधे मकै चढाउने गरिन्छ ।

यति गरेपछि बराहमुलको पोखरीमा हात हालेर भूँईमा जे भेटिन्छ त्यसलाई समातेर नहेरिकन सेतो टालोमा पोको पारेर घर लगिन्छ । बर मागे बमोजिम छोरो जन्मेका तीन वर्ष भित्र छोरो र सेतो टालोमा पोको पारेको वस्तुलाई ल्याएर यो तिम्रो छोरो हो भनेर देखाउने प्रचलन रहेको छ । त्यसपछि सेतो टालोमा पोको पारेको वस्तु बराहमुलमा छाडिन्छ । साथै छोरालाई साँढमा पानी हाल्न लगाएर पर्सेपछि बराहमुलमा बलि दिइन्छ ।

जीतको चिनो दमाहा
पहिले ढोरपाटन जुम्ला राज्यको अधिनमा थियो । सिद्धबराहको आर्शिवादले गर्दा जुम्ला राज्यबाट छुट्ट्याएर मगरात कायम गर्न सकिएको हो भन्ने लोककथन रहेको छ । लोककथनअनुसार एक दिन ढोरपाटनबाट बोबाङ्ग झरेका खाममगरलाई सिद्धबराहको थानमा अजङगको सर्पले बाटो छेकेछ र त्यहि बास बसेछन् । राति सबैले सिद्धबराहले तिमिहरू यहाँबाट फर्क । म तिमिहरूलाई साथ दिन्छु । तिमिहरूले जुम्लीलाई जीत्न सक्छौ भन्ने एउटै सपना देखेछन् र त्यहाँबाट फर्केर जुम्लीलाई ढोरपाटनबाट लखेट्दै टिकाधारा भन्ने ठाउँमा पुर्याएपछि मगरको जीत भएकाले सबैले हर्षबढाई गरेर बाजा बजाउने र टिको लगाउने गरेछन् । मगरका पुर्खाले जुम्लीलाई जीतेको चिनोको रूपमा उत्तरगंगा ढोरबराहको थानमा ढुङगाको दमाहा बाजा राखिएको छ ।

dhorpatan3 https://newskhari.com/storage/2024/03/DhorpatanDhorpatan_Hunting_Reserve_at_morning-scaled-e1710122718762.jpg

धार्मिक आस्था र अर्थतन्त्र
ढोरपाटनमा ढोरबराहका अलवा सिद्धबराह, लाटावराह, सिमबराह, चिसापानीबराह र जल्पाबराह पनि रहेका छन् । भेंडापालन धेरै हुने ठाउँमा बराह देवताको वासस्थान हुन्छ भन्ने मगर समुदायमा धार्मिक विश्वास रहेको छ । अहिले पनि वर्षात्को समयमा ढोरपाटन शिकार आरक्ष भित्र करिब पचपन्न हजार भेंडा चर्ने गर्दछन् । वर्षेनी जनैपूर्णिमा र बैशाखे पूर्णिमाको अवसरमा बलि दिने झण्डै एक हजार साँढ यीनै भेंडाका बथानबाट निकाल्ने गरिएको छ । यी साँढको बजारमुल्य एक करोड रुपियाँ भन्दा बढी हुने गरेको छ । तर यति धेरै धार्मिक आस्था र स्थानीय अर्थतन्त्रसँग जोडिएको धार्मिकस्थलको गुठी मास्ने, पुजारी हटाउने र ठेक्का लगाएर भेटी उठाउने जस्ता बेथिति रहेका छन्। प्रस्तावित उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजना निर्माण भएमा यो धार्मिकस्थल डुवानमा पर्ने हुन्छ । त्यसैले यस बारेमा पनि समयमै पूर्नविचार गर्न जरूरी छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित