काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाललाई उम्मेदवार उठाउने भएको छ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार उठाउने निर्णय गरेको अर्थमन्त्री समेत रहेका उपमहासचिव वर्षमान पुनले जानकारी दिए ।
उनी राष्ट्रपतिबाट मनोनित राष्ट्रिय सभा सांसद हुन् । नारायण दाहाल ०७८ मा राष्ट्रिय सभा सदस्य मनोनित भएका थिए ।
राष्ट्रिय सभाको अध्यक्षमा दाहालसँगै अहिले उपाध्यक्ष रहेकी उर्मिला अर्याल र झक्कु सुवेदी पनि आकांक्षी थिए। दाहालले आफूलाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउनुपर्ने भन्दै माओवादी केन्द्रका सबै पदाधिकारीहरूसँग लबिङ गरेका थिए। दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाइ समेत हुन्।
यसअघि बसेको स्थायी कमिटी बैठकले दाहाललाई बागमती प्रदेशको सह इन्चार्ज बनाउने निर्णय गरेको थियो। तर, उपमहासचिव जनार्दन शर्माले विरोध गरेपछि त्यो निर्णय सार्वजनिक नै भएन। तर आइतबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले त्यो भन्दा अति नै महत्वपूर्ण मानिएको राष्ट्रिय सभा अध्यक्षमा उनलाई उम्मेदवार बनाउने निर्णय गरे।