बागलुङ । सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी सडकखण्ड अवरुद्ध भएको छ । बागलुङ र गुल्मीको सिमानामा पर्ने गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर ६ बरलवाको भिरमा पहिरो खसेको हो । पहिरोले बागलुङ–गुल्मी खण्डअन्तर्गत मालढुङ्गा–अर्वेनी सडक पूर्णरूपमा बन्द छ।
यसअघि गएको फागुन ११ गते राति खसेको सुक्खा पहिरोका कारण करिडोर एक हप्ता बन्द भएको थियो । बाग्लुङको मालढुङ्गाबाट गुल्मीको अर्बेनीसम्म ४४ किलोमिटर खण्ड कालोपत्रका लागि स्तरोन्नतिको काम भैरहेको छ ।
काम चलिरहेकै बेला हिजो दिउँसो पहिरो खसेपछि सडक अवरुद्ध भएको र काम रोकिएको निर्माण कम्पनी कालिका कन्ट्रक्सनका इन्जिनियर छकबहादुर गुरुङले बताए। पहिरो हटाउन केही दिन लाग्न सक्ने उनले बताए ।
सडक बन्द भएपछि करिडोर हुँदै चल्ने लामो तथा छोटो दुरीका गाडीलाई समस्या भएको छ । बाग्लुङ बजार र दक्षिण जैमिनी र बरेङ गाउँपालिकाबाट बुटवललगायतका ठाउँमा चल्ने गाडी र यात्रु समस्यामा परेका छन् ।