काठमाडौं । सोमबार बाराको निजगढमा भएको शंकास्पद वस्तु विस्फोटमा मृत्यु हुनेको संख्या ३ पुगेको छ। विस्फोटमा परेर गम्भीर घाइते भएका वीरगन्ज महानगरपालिका ९ का २० वर्षीय रितु रजतको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) सुरेश काफ्लेले जानकारी दिए।
यसअघि विस्फोटमा परेर एक भारतीय र एक नेपालीसहित दुई जनाको मृत्यु भएको थियो। ‘वीरगन्जको बयोधा अस्पतालमा उपचाररत अर्का अर्का २० वर्षीय युवकको पनि मृत्यु भएको छ,’ एसपी काफ्लेले भने, ‘थप विवरण हामी केही बेरमै सार्वजनिक गर्ने छौँ।’
विस्फोटमा परेर गम्भीर घाइते भएका भारतीय नागरिक ३५ वर्षीय राकेश जैसवालको गएराति बयोधा अस्पतालमै मृत्यु भएको थियो। भारतको गवाई घर भएका जैसवाल लेथका मिस्त्री हुन्।
निजगढ नगरपालिका ७ मा रेशम मगरले सञ्चालन गर्दै आएको रोहित वर्कशप लेथमा सोमबार दिउँसो कबाडीबाट ल्याएको शंकास्पद बस्तु विस्फोट भएको थियो। विस्फोटमा गम्भीर घाइते भएका निजगढ ५ निवासी ४५ वर्षीय रेशम मगरको त्यतिबेलै मृत्यु भएको थियो। उनी लेथका सञ्चालक हुन्।
गम्भीर घाइते भएका मगरलाई उपचारको लागि बयोधा अस्पताल वीरगञ्जमा पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
विस्फोटमा परेर निजगढ नगरपालिका ५ का ४५ वर्षीय सूर्यबहादुर थापा, पर्साको वीरगन्ज महानगरपालिका ९ घर भएका ३४ वर्षीय फिरोज देवान, वीरगन्ज ९ का २० वर्षीय रितु रजत र भारतको रामघडवा घर भएका २० वर्षीय अरविन साह घाइते भएका थिए।
घाइतेमध्ये बयोधाको आईसीयूमा उपचाररत एक युवकको मृत्यु भएको हो। बाँकी ३ घाइते मध्ये एकको बयोधा र दुई जनाको निजगढमै उपचार भइरहेको छ।