काठमाडौं । दोलखामा मध्यरातिमा घाइते भेटिएका एक जना युवकको मृत्यु भएको छ । सोमबार राति १ बजेको समयमा सख्त घाइते भेटिएका भीमेश्वर नगरपालिका-८ स्थित चरिकोट-काठमाडौं सडकखण्डमा गम्भीर अवस्थामा भेटिएका सोनाम तामाङको मृत्यु भएको हो ।
तामाङलाई उद्धार गरी पशुपति चौलागाई स्मृति अस्पताल चरिकोट लिएलको केही समयपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका डीएसपी दिपक खड्काले जानकारी दिए ।
उनका अनुसार मृतक तामाङको शरीका विभिन्न ठाउँमा चोट देखिएको छ । राति केही साथीहरू सँगै बसेको र त्यसक्रममा झगडा भएको पाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले सोधपुछका लागि सँगै बसेका चार जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार मोटरसाइकल पनि दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । र, त्यसमा रगत लतपतिएको छ । त्यसैले दुर्घटना भएको हो या हत्या भएको हो भन्ने दुवै कोणबाट अनुसन्धान भइरहेको डीएसपी खड्काले बताए ।
सोनामको शव पोष्टमर्टमका लागि अस्पतालमै राखिएको छ ।