काठमाडौं । एफएम रेडियोको साथी बनाउने कार्यक्रममार्फत भएको चिनजान एक महिलाको मृत्युको कारण बन्न पुगेको छ । दोलखाको एक एफएम रेडियोले सञ्चालन गर्ने ‘नयाँ साथी बनाउने’ कार्यक्रममा रामेछापको लिखु तामाकोशी गाउँपालिका–५ की प्रमिला दमाईको दोलखाको वैत्यश्वर गाउँपालिका ७ का ३८ वर्षीय कुमार श्रेष्ठसँग चिनजान भएको थियो ।
त्यही चिनजानले उनीहरूलाई प्रेम सम्बन्धसम्म पुर्याएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी भूपेन्द्र खत्रीले बताए । ‘उनीहरूको चिनजान रेडियो कार्यक्रममार्फत भएको देखिन्छ’, एसएसपी खत्रीले पत्रकार सम्मेलनमा भने ।
एसएसपी खत्रीका अनुसार त्यसपछि उनीहरू विगत एक वर्षदेखि प्रेम सम्बन्धमा थिए । धेरै पटक उनीहरूको भेटघाट हुने र होटलमा बस्ने गरेको बयान श्रेष्ठले दिएका छन् । दुवै जनाका छोराछोरी छन् ।
विवाहेतर सम्बन्धको बारेमा प्रमिलाका श्रीमान् नसे दमाईले पनि थाहा पाएका थिए ।
त्यसपछि यही असार महिनामा इलाका प्रहरी कार्यालय धोबी रामेछापमा उजुरी दिएका थिए । प्रहरीले तीनै जनालाई बोलाएर छलफल गराएको थियो ।
त्यसपछि कुमारलाई उनकी श्रीमती सविनाको जिम्मा लगाएर पठाइएको थियो । तर पनि उनीहरूको प्रेम छुटेन । त्यहीबीचमा कुमार रोजगारीका लागि भारत गएका थिए भने प्रमिलालाई उनका श्रीमानले काठमाडौं ल्याएका थिए ।
गत पुष महिनाको अन्त्यमा भारतबाट फर्केर कुमारले काठमाडौं डेरा लिएर बस्दै आएका थिए । कुमार काठमाडौं आएपछि प्रमिला पनि उनीसँगै बस्दै आएको प्रहरीले जनाएको छ ।
‘प्रारम्भिक अनुसन्धानमा प्रमिला काठमाडौं बस्ने थाहा पाएपछि कुमार काठमाडौं डेरा गरेर बसेको देखिन्छ’, एसएसपी खत्रीले भने ।
उनका अनुसार पुष २८ गते कुमार दोलखा गएको समयमा फेरि प्रमिला उनका श्रीमान् नसेसँग फिर्ता आएकी थिइन् ।
माघ ४ गते कुमार दोलखाबाट फर्केपछि उनीहरू बेला–बेलामा होटलमा बस्दै आएको अनुसन्धानमा देखिएको एसएसपी खत्रीले बताए । यही माघ २६ गते उनीहरू गौशालामा रहेको होटलमा बस्न पुगेका थिए ।
होटलमा पुगेपछि प्रमिलाले विवाह गर्न दबाब दिएको र सोही विषयमा विवाद हुँदा हत्या गरेको श्रेष्ठले प्रारम्भिक बयान दिएका प्रहरीले जनाएको छ ।
‘उनीहरूको होटलमा विवाहका विषयमा विवाद भएको देखिन्छ । त्यही विवादले हत्यासम्म पर्याएको अनुसन्धानमा देखिएको छ’, एसएसपी खत्रीले भने । प्रहरीले प्रमिलाको शव काठमाडौं गौशाला विजय चोकमा रहेको सिराहा धनुषा गेष्ट हाउसमा माघ २७ गते फेला पारेको थियो । त्यसभन्दा अगाडि २४ गते पनि उनीहरू त्यही होटलमा बसेर फर्किएका थिए ।
प्रहरीलाई १०० नम्बरमा फोन गरेर महिलाको शव फेला पारेको जानकारी गराइएको थियो । शुरूमा प्रहरीले महिलाको पहिचान गर्न सकेको थिएन । होटलमा ‘इन्ट्रि’ गर्दा अर्कै नाम र फोन नम्बर टिपाएकाले पनि हत्याराको पहिचान गर्न प्रहरीलाई अप्ठ्यारो परेको थियो ।
‘नाम अर्कै र फोन नम्बर पनि र्यान्डम लेखेकाले हामीलाई हत्यारा को हो र मृतक को हो भनेर पत्ता लगाउन निकै अप्ठ्यारो भएको थियो’, एसएसपी खत्रीले भने ।
प्रहरी सीसीटीभी लगायतका अनुसन्धानबाट श्रेष्ठलाई पक्राउ गरेको छ । कुमारले कन्चटमा हानेर ढलाएको र पछि नाइलनको डोरीले घाँटी कसेर हत्या गरेको बयान दिएका प्रहरीले जनाएको छ ।