काठमाडौं । नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघ सर्लाहीका अध्यक्ष सुनिलकुमार गुप्ता आम जनता पार्टीमा प्रवेश गरेका छन् । उनीसँगै युवा नेता निरज गुप्ता पनि आजपामा प्रवेश गरेको प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन् ।
नवप्रवेशीलाई पार्टी अध्यक्ष साहले पार्टीमा स्वागत गर्दै बधाई तथा थप उज्जवल राजनीतिक भविष्यको कामना सहित शुभकामना दिएका छन् । पछिल्लो समय बिभिन्न पार्टी परित्याग गरी आजपामा प्रवेश गर्नेका लहर चलेको आजपा केन्द्रीय सदस्य विजय यादव निर्विजले जनाएका छन् ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले दलीय सिन्डिकेटका कारण लोकतन्त्र नै खतरामा परेको बताएका छन् ।
‘दलीय सिन्डिकेटका कारण लोकतन्त्र नै खतरामा परेको छ । प्रमुख दलका शीर्ष नेताहरुको अहिले मनोमानी चलिरहेको छ । केही मुठिभर नेताका कारण अहिले दलतन्त्र हावी भएको छ’ साहले भने, ‘अहिलेको व्यवस्था असफल भईसकेको छ । अब राष्ट्रपतिय व्यवस्थामा जानुको बिकल्प छैन् ।’
समृद्धि, सुशासन तथा राजनीतिक स्थायित्वका लागि अहिलेको व्यवस्था फालेर राष्ट्रपतिय व्यवस्थामा जानुपर्ने उनले बताए ।