काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पाँचौँ केन्द्रीय समितिको पूर्ण बैठक आजबाट सुरु भएको छ । काठमाडौंको राष्ट्रियसभा गृहमा जारी बैठकमा पार्टीले सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ को विशेष समीक्षा हुनेछ ।
चारमहिने अभियानमा पार्टीको संगठन निर्माण, पुनर्निर्माणका साथसाथै सहिद परिवार, बेपत्ता योद्धाका परिवार, घाइते र अपांगता भएका कार्यकर्तासँग भेटघाट गरेको थियो ।
माओवादी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सांसद माधव सापकोटाका अनुसार भोलिसम्म चल्ने बैठकमा समसामयिक राजनीतिक विषयका साथै पार्टीको कामकारबाही र आगामी फागुन १ देखि ३ गतेसम्म हुने विधान सम्मेलनबारे पनि छलफल हुनेछ ।