काठमाडौं । सरकारले प्राविधिक सेवातर्फका दुई सचिवको सरुवा गरेको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव मणिराम गेलाललाई शहरी विकास मन्त्रालयमा सरुवा गरेको छ । गेलालले मंगलबार पत्र बुझेपछि मात्रै सचिव सरुवा भएको जानकारी सार्वजनिक भएको हो ।
गेलालको सहरी विकास मन्त्रालयमा सरुवा भएसँगै उक्त मन्त्रालयका सचिव सरजुकुमार वैद्यको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ ।
गेलाल सहसचिव हुँदा मन्त्रालय अन्तरगतको शहरी विकास तथा भवन निर्माण विभागमा लामो समय महानिर्देशक भएर बसेका कारण शहरीबारे जानकार सचिवका रुपमा चिनिन्छन् । गेलाल २०७५ साउन १४ गतेदेखि २०७७ मंसिर २५ गतेसम्म करिव साढे दुई वर्ष विभागको महानिर्देशक बनेका थिए ।
२०७९ जेठ नौ गते गेलाल प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट खानेपानी मन्त्रालयमा सरुवा भएका थिए । त्यहाबाट पनि उनी केही समय लगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका थिए । सहसचिवबाट सचिव भएको तीन वर्षको अवधिमा ६ पटक भन्दा बढी सरुवा भइसकेका छन् । गेलाल लामो समय कुनै पनि निकायमा बसेका छैनन् ।