काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । शनिबार कीर्तिपुर क्रिकेट मैदानमा सम्पन्न फाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै अर्को विभागीय टोली पुलिसले उपाधि जितेको हो ।
पुलिस क्लबले आर्मीलाई ६ विकेटले पराजित गरेको हो । आर्मीले दिएको १८२ रन लक्ष्य पुलिसले ३७ ओभर ५ बलमा चार विकेट गुमाएर पूरा गर्यो ।
पुलिसका शंकर रानाले अर्धशतक बनाए । उनले अविजित ६२ रन बनाएका हुन् । यस्तै, आरिफ शेखले २७, अमीत श्रेष्ठले २८, अर्जुन साउदले ३६, कुशल भुर्तेलले १४, दिलिप नाथले ७ रन बनाए ।
यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको आर्मीले ४९.५ ओभरमा सबै विकेट गुमाएर १८१ रन बनाएको थियो । आर्मीका लागि विवेक यादवले सर्वाधिक ६३ रनको योगदान दिए । उनले ७ चौका र १ छक्का हिर्काए ।
नेपाल पुलिसका लागि ललित राजवंशी र दीपेन्द्र सिंह ऐरीले ३–३ विकेट लिए । त्यस्तै, सागर ढकाल, करण केसी र कुशल भुर्तेलले एक–एक विकेट लिए । विजेता पुलिसले १० लाख र उपविजेता आर्मीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।