काठमाडौं । सर्वोच्च अदालतले नियामक नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिको प्रक्रियाको विषयलाई लिएर कारण देखाऊ आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीस प्रकाशमानसिंह राउतको एकल इजलासले अन्तरिम आदेशका लागि छलफलमा बोलाउँदै सरकारका नाममा कारण देखाऊ आदेश दिएको हो ।
दूरसञ्चार क्षेत्रको नियमनकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणमा कानून विपरीत अध्यक्ष नियुक्ति गरिन लागेको भन्दै कानून व्यवसायीहरूको एक समूहले बिहीबार अदालतमा रिट दायर गरेको थियो । कानून, लेखा परीक्षण तथा व्यवस्थापनको क्षेत्रका व्यक्तिलाई पाखा लगाउने उद्देश्य राखी सरकारी वा संस्थानको राजपत्राङ्कित प्रथम श्रेणी दशौं तह वा सो भन्दा माथिल्लो पदमा काम गरेको व्यक्तिलाई मात्र दरखास्त दिन पाउने व्यवस्था गैर कानूनी भएको उनीहरूको दावी छ ।