काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी एक दिवसिय यू–१९ विश्वकप अन्तर्गत सुपर–६ को खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ।
टस जितेर पहिले ब्याटिङ गर्दै नेपालले दिएको १७० रनको लक्ष्य बंगलादेशले पाँच विकेटको क्षतिमा २५ दशमलव २ ओभरमा पूरा गर्यो।
बंगलादेशको जितमा जिसान आलमले ५५ रनको योगदान दिए। यस्तै आरिफूल स्लामले नटआउट ५९ रन बनाए। आशिक्यूर रहमान शिबलीले १६ बनाउँदा चोवाधुर महम्मद रिजवान १५ र अहरर अमिमले १२ रन जोडे।
नेपालका लागि बंगलादेशको पाँच विकेट सुवास भण्डारी एक्लैले लिए। ८ ओभर बलिङ गरेका भण्डारीले ४४ रन खर्चिँदै ५ विकेट लिएका हुन्।
दक्षिण अफ्रिकाको माङगाउन ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा १६९ रन बनाउँदै सबै विकेट गुमाएको थियो।
बंगलादेशविरूद्ध नेपालका लागि सबैभन्दा धेरै मध्यक्रमका ब्याटर विशालविक्रम केसी ४८ रन बनाए। उनले एक सय बल खेल्दै ४८ रन जोडेका हुन्।कमजोर सुरुवात गरेको नेपालले पहिलो पावर प्ले मै तीन विकेट गुमाएको थियो। ओपनिङ ब्याटर विपिन रावल चौथो ओभरमा २ रनमा आउट भए। आठौं ओभरमा आकाश त्रिपाठी र लगत्तै अर्को ओभरमा ओपनर अर्जुन कुमाल १४ रन बनाएर आउट भए।
कप्तान देव खनाल र विशालले चौथो विकेटका लागि ६२ रनको साझेदारी गरेका थिए। २८औं ओभरमा आउट हुनुअघि देवले ६० बलमा ३ चौकाको मद्दतमा ३५ रन बनाए।
देव आउट भएपछि नेपालले लगातार विकेट गुमायो। गुल्सन झा, दिपक बोहरा र दिपेश कँडेल तीनै जना ३(३ रनमा आउट भए। यस्तै आकाश चन्द पनि शून्यमै आउट भए। अन्तिमसम्म ब्याटिङ रहेका सुवास भण्डारीले नटआउट १८ रन जोडे। नेपालका लागि एक मात्र छक्का हिर्काएका दुर्गेश गुप्ताले अन्तिम विकेटको रुपमा आउट हुनुअघि ९ रन बनाएका थिए।
यता बंगलादेशका रोहानत बोर्सनले ४ विकेट लिए। शेख जीवनले ३ विकेट लिए। शेखले १० ओभरमा २ मेडन राख्दा ३४ रन खर्चिए।