काठमाडौं । ललितपुरको बालकुमारीमा सुरक्षाकर्मीको दमनबाट दुई जना युवकको मृत्यु भएको घटना जाँचबुझ गर्न गठित आयोगको म्याद थप गर्न प्रस्ताव गरिएको छ । पुस १६ मा मन्त्रिपरिषद्ले पूर्व न्यायाधीश शेखर पौडेलको नेतृत्वमा ३ सदस्यीय आयोग गठन गरेको थियो । आयोगमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक अरुण बिसी र सहसचिव नारायणप्रसाद भट्टराई सदस्य छन् ।
आयोगलाई मन्त्रिपरिषद्ले एक महिनामा प्रतिवेदन पेश गर्न कार्यादेश दिएको थियो । तर, समय अपुग भएको भन्दै आयोगको तर्फबाट म्याद थप्नुपर्ने प्रस्ताव आएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले बताए । ती अधिकृतले भने, ‘आयोगको तर्फबाट १५ दिनको समय थप्न प्रस्ताव आएको छ ।’
सिंहदरबारमा कार्यालय स्थापना गरेर आयोगले पुस २० देखि जाँचबुझ शुरु गरेको थियो । पुस १३ मा रोजगार अनुमति प्रणाली ९ईपीएस० मार्फत कोरियामा काम गर्न जान खोज्नेहरूले गरेको प्रदर्शनमा प्रहरीले दमन गरेको हो । प्रहरीको दमनबाट दैलेख घर भएका सुजन रावत र अछामका वीरेन्द्र शाहले ज्यान गुमाएका थिए। सो घटनापछि ललितपुरका प्रजिअ र एसएसपी परिवर्तन भएका छन् । बालकुमारी क्षेत्रमा गोली हान्न आदेश गर्ने डिएसपी उमेश लम्साललाई निलम्बन गरिएको छ ।
हाल जिल्ला प्रहरी परिसर ललितपुरमा प्रहरी बरिष्ठ उपरिक्षक शेखर खनाल र प्रमुख जिल्ला अधिकारीमा तुल्सी बहादुर श्रेष्ठलाई पठाइएको छ ।