काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्राकृतिक स्रोत र सम्पदाहरूको बहुआयामिक उपयोग गरेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले औषधि उत्पादनमा पहल लिनुपर्ने बताएका छन् । औषधि उत्पादनका लागि आवश्यक गृहकार्य गर्न प्रतिष्ठानलाई निर्देशन दिँदै प्रधानमन्त्री प्रचण्डले आवश्यक माग सरकारले सम्बोधन गर्ने आश्वासन समेत दिए ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौं सभालाई सम्बोधन गर्दै उनले भने, ‘कर्णाली प्रदेश अथाह प्राकृतिक स्रोत र मुख्यतः जडीबुटी स्रोतमा महत्त्वपूर्ण छ । तसर्थ, प्राकृतिक स्रोत र सम्पदाहरूको बहुआयामिक उपयोगका साथै औषधि उत्पादनका क्षेत्रमा समेत पहल लिनुपर्दछ ।’
कर्णालीको अथाह सम्भावनालाई सदुपयोग गर्ने योजनामा सरकारले सघाउने वचन दिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनका लागि विदेशी विद्यार्थीहरु पनि आएको जानकारी पाउँदा खुसी लागेको भन्दै उनले नेपाललाई उच्च शिक्षाको हब बनाउनुपर्ने धारणा राखे।