काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि आज र भोलि देशभर पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।
पश्चिमी वायुका कारण पर्सि बुधवारदेखि सुदूरपश्चिमी क्षेत्रका पहाडी भेगमा हल्कादेखि छिटपुट वर्षाको सम्भावना भए पनि देशभर ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद् मिनकुमार अर्यालले बताए ।
यस्तै, तराईं मधेसमा बिहानपख लाग्ने बाक्लो हुस्सु र कुहिरो दिउँसोपछि बिस्तारै हट्दै जान थालेको छ । यसले गर्दा तराईमा चिसो केही कम हुने मौसमविद्को भनाइ छ ।
तराईंमा लामो समयदेखि लागेको बाक्लो हुस्सु र कुहिरोका कारण जनजीवन प्रभावित हुँदै आएको छ । तीव्र गतिको हावा चलेमा, पानी परेमा वा घाम लागेर तापक्रम बढेमा हुस्सु र कुहिरो हट्दै जाने मौसमविद्ले बताएका छन् ।
आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम हिजोभन्दा ० दशमलव ९ डिग्री सेल्सियसले बढेर ३ डिग्री पुगेको छ । हिजो काठमाडौं उपत्यकामा यो वर्षको सबैभन्दा कम न्यूनतम तापक्रम २ दशमलव १ डिग्री सेल्सियस मापन भएको थियो ।