काठमाडौं । नेपालले पहिलो पटक उत्तरी छिमेकी चीनको भूमि प्रयोग गरी नेपाली उत्पादन तेस्रो मुलुकमा निर्यात गरेको छ ।
भन्सार दिवसको अवसर पारेर तातोपानी नाकामार्फत गत शुक्रबार नेपालले चीनको बाटो प्रयोग गरी तेस्रो मुलुक जापानमा नेपाली उत्पादन निर्यात गरेको हो ।
भन्सार कार्यालय तातोपानीका प्रमुख दयानन्द केसीकाअनुसार पहिलो पटक परीक्षणको रुपमा भन्सार दिवसको अवसर पारेर सिजी फुड्स प्राइभेट लिमिटेडले उत्पादन गरेको वाईवाई जिङ्ग चाउचाउ जापान पठाइएको हो ।
‘नेपाल र चीनबीच पारवहन प्रोटोकलमा द्विपक्षीय सम्झौता भएपछि पहिलो पटक चीनको बाटो प्रयोग गरी तेस्रो मुलुकमा नेपाली उत्पादन निर्यात गर्न सफल भएका छौं,’ केसीले भने,‘उक्त प्रोटोकलको सम्झौताअनुसार अहिलेसम्म नेपाली उत्पादन चीनको बाटो प्रयोग गरी तेस्रो मुलुकमा निर्यात भएको थिएन । हामीले तातोपानी नाकामार्फत यो नीतिलाई कार्यान्वयनमा ल्याउन सफल भयौं ।’
उनका अनुसार ११ हजार ७ सय ९१ अमेरिकन डलरबराबर (१५ लाख ६८ हजार १ सय १८ नेपाली रुपैयाँ) को २ हजार ४ सय वाईवाईको कार्टुन (७२ हजार चाउचाउको प्याकेट) जापान निर्यात गरिएको हो ।
पहिलो पटक चीनको बाटोमार्फत तेस्रो मुलुकमा भएको यो निर्यात प्रक्रिया सफल भएकाले अब उत्तरी छिमेकी मुलुकमार्फत तेस्रो मुलुकमा नेपाली उत्पादनको निर्यात गर्ने बाटोसमेत खुलेको केसीले जानकारी दिए ।