बडिगाड । बागलुङको बडिगाड गाउँपालिको प्रशासकीय भवन उद्घाटन गर्न गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे आज (आइतबार) बडिगाड आउने भएका छन् । २०७७ साल असोज २१ गते शिलान्यास भएको प्रशासकीय भवन गत असारमा सम्पन्न भएपछि त्यसको उद्घाटन गर्न मुख्यमन्त्री पाण्डे आज बडिगाड आउने भएका हुन् ।
मुख्यमन्त्री बडिगाड आउने भएपछि गाउँपालिकाले सबै विद्यालयहरूमा सार्वजनिक बिदा दिएको छ । आज गाउँपालिकाको प्रशासकीय भवन उद्घाटनमा मुख्यमन्त्री आउँदै हुनुहुन्छ गाउँपालिकाले विद्यालयका शिक्षकहरुलाई मौखिक रूपमा भनेको छ- ‘विद्यालयका सबै शिक्षक र पायक पर्ने विद्यार्थीहरूकाे हकमा अनिवार्य उपस्थिति हुनुहोला ।’
बडिगाड गाउँपालिकाका शिक्षा शाखा प्रमुख पूर्ण घर्तीले आज गाउँपालिकाभित्रका विद्यालयहरुमा सार्वजनिक बिदा दिएको बताए ।
‘आज गाउँपालिको भवन उद्घाटन हुँदैछ घर्तीले भने,- ‘गाउँपालिकाभित्रका सबै शिक्षक र विद्यार्थीहरुलाई बोलाएका छौं ।’ सार्वजनिक बिदाको सूचना किन ननिकाल्नुभएको भन्ने प्रश्नमा उनले भने – ‘हामीले विद्यालयहरूमा मौखिक जानकारी गराएका छौं ।’
मुख्यमन्त्रीको स्वागतका लागि पालिकाका ६५ वटा विद्यालयहरूका ४ सय २५ शिक्षकहरुलाई कार्यक्रममा आउन निर्देशन गरिएको छ । स्रोतका अनुसार पालिकामै उनीहरुको हाजिर गर्ने भनिएको छ ।
तर, शिक्षा शाखा प्रमुखले त्यसकाे खण्डन गर्दै भनेका छन्- ‘त्याे नीति भन्दा विपरित छ हामीले त्यसाे गर्दैनाैँ ।’ पालिकाले दिएको सार्वजनिक बिदाले करिब ८ हजार विद्यार्थीको पढाई प्रभावित हुने भएको छ ।