काठमाडौं । बागलुङको इमेज वचत तथा ऋण सहकारी संस्थाको कोषाध्यक्ष लक्ष्मी सेन सुनार पक्राउ परेकी छन्। उनलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता तथा सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए।
प्रवक्ता तथा सूचना अधिकारी नवराजका अनुसार बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा सरिता तिमल्सेना (कँडेल)सहितको संयुक्तरुपमा सहकारीका सञ्चालक समितिका अध्यक्ष देवकुमार नेपालीसमेत ८ जनाविरुद्ध जाहेरी परेको थियो।
सोही जाहेरीका आधारमा पक्राउ गर्न प्रहरीले जिल्ला अदालत बागलुङबाट पक्राउ अनुमति लिएको थियो। खोजतलासका क्रममा आठजनाध्येकी सहकारीको कोषाध्यक्ष २७ वर्षीया सुनार पक्राउ परेकी हुन्। थप अनुसन्धानका लागि जिल्ला प्रहरी बागलुङ पठाएको प्रहरीले जनाएको छ। प्रहरीले सहकारीमा आवद्ध अन्य व्यक्तिहरूको खोजि गरिरहेको थियो।