बागलुङ । बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर ५ का स्थानीयले गाउँपालिकाको कार्यालय अगाडी नाराबाजी गरेका छन् ।
बुर्तिबाङ पौदीअमराई तम्घास सन्धिखर्क गोरुसिंगे १३२ केभी प्रसारणबाट प्रभावित बडिगाड गाउँपालिका वडा नम्बर ५ का स्थानीयले गाउँपालिकाको कार्यालय अगाडी बिहीबार नाराबाजी गरेका हुन् ।
खेतीयोग्य जमिन र घरबिहीन गराउने गरी समूदायमा केन्द्रीय प्रसारण लाइनका पोलहरु राख्न नहुने भन्दै गाउँपालिकाको कार्यालय अगाडी नाराबाजी गरेको स्थानीय गोपाल घिमिरेले जानकारी दिए ।
‘हामी विकास विरोधी हौइनौँ, ठूलो बस्ती र खेतीयोग्य जमिनबाट केन्द्रीय प्रशारण लाइन लैजान उपयुक्त छैन भन्ने हाम्रो माग हो,’ उनले भने- ‘वैकल्पिक बाटो हुँदा-हुँदै पनि हामीमाथि अन्याय भयो ।’
‘२०७० सालमा केन्द्रीय प्रशारण लाइनका लागि नापजाँच भएको रहेछ हामीलाई बल्ल थाहा भयो,’ उनले थपे, ‘स्थानीयसँग समन्वय नगरी विद्युत प्राधिकरणका कर्मचारीहरुले जबजस्त पोल गाड्ने तयारी गरेका छन् ।’
यता, स्थानीयहरूले संघर्षसमिति नै बनाएर गाउँपालिकाको कार्यालय, वडा नम्बर ५ को वडा कार्यालयमा धर्ना र विरोध प्रर्दशन गर्दै आएका छन् ।
‘हामीले कुरा उठाएपछि गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी विद्युत प्राधिकरणका कार्यकारी निर्देशकसँग गएर छलफल गर्नुभयो,’ संघर्ष समिति सदस्य कृष्ण भट्टराईले भने- ‘अर्को मार्ग हुँदै विद्युत विस्तार हुने कुरा हामीलाई आश्वासन दिनुभयो अहिले त्यो कुरा लागू भएन ।’
स्थानीय सरकारले सहयोग गर्नुको सटो आफूहरुलाई असहयोग गरेको संघर्षसमितिका संयोजक हरिदत्त आचार्यले बताए ।
‘शुरुमा हामीलाई वस्ती जोगाएर अर्को बैकल्पिक मार्गबाट जान्छ भन्ने कुरा गाउँपालिका अध्यक्षले गर्नुभयो,’ उनले भने, ‘अहिले आयोजनले काम अगाडी बढाइरहँदा उहाँहरु चुइक्क बोल्नुहुन्न ।’
उनका अनुसार ग्वालीचौरको फाँटबाट विद्युत प्रसारणलाई विस्तार गर्दा गाउँपालिकाको १५ शैय्याकाे अस्पताल, भानु माध्यमिक विद्यालय, स्थानीयका घर र खेतीयोग्य जमिन पर्दछ ।
‘हाम्रा खरबारीहरु छन्, त्यहाँबाट लैजान हामीले दिन्छौं त्यहाँ प्रभावित बस्तीहरुको पनि व्यवस्थापन गछौं भनेर स्थानीयहरुले बोलेका छन्,’ उनले भने- ‘खेतीयोग्य जमिनबाट आयोजना अगाडी बढ्ला जस्तो देखिन्न ।’
विद्युत प्रसारण लाइनका लागि बडिगाड गाउँपालिका वडा नम्बर ५ मा १५ वटाबाट राख्ने गरी सर्भे भएका छन् । उक्त सर्भेका विरूद्ध प्रभावित स्थानीयहरुले जिल्ला प्रशासन कार्यालयलाई विपक्षी बनाइ गृहमन्त्रालयमा रिट निवेदन दर्ता गरेका छन् ।
यता, प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले विद्युत प्राधिरकणले सर्भे गरी काम अगाडी बढाएकाले आफूूले भनेर केही नहुने प्रतिक्रिया दिए ।
‘विद्युुत प्राधिकरणले सर्भे गरी काम अगाडी बढाएको छ, स्थानीयले अर्को ठाउँबाट विद्युत विस्तार गर्नुपर्यो भन्ने आवाज उठाउनुभएको छ,’ प्रमुख जिल्ला अधिकारी रिजालले न्यूज खरीसँग भने, ‘विद्युत प्राधिकरणले वैकल्पिक बाटोबाट आयोजना अगाडी बढाउनु नभनेसम्म हामीले केही गर्न सक्दनौं ।’