काठमाडौं । राष्ट्रियसभामा रिक्त रहेको १९ सदस्यका लागि ७ प्रदेशमा भएको मतदान सम्पन्न भएको छ । बिहीवार ७ वटै प्रदेशमा भएको मतदान दिउँसो ३ बजे सम्पन्न भएको हो ।
७ प्रदेशमध्ये बागगमतीबाट सबैभन्दा बढी ४, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा ३–३ गरी ९, कोशी, मधेश र कर्णाली प्रत्येकमा २–२ सहित ६ गरी १९ सिटमा लागि मतदान भएको हो ।
केहीमा बाहेक लगभग सबै प्रदेशमा शतप्रतिशत मत खसेको छ । प्रदेससभा सदस्य, नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदाता हुने निर्वाचनमा गठबन्धनले १९ वटै सिट जित्ने देखिएको छ ।
निर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले साझा उम्मेदवार उठाएका थिए ।
प्रतिपक्षी नेकपा (एमाले)ले पनि केही ठाउँमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग तालमेल गरेको थियो । १९ सिट मध्ये कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र लोसपाले १ सिटमा उम्मेदवार उठाएका छन् ।
आगामी फागुन २० गतेबाट राष्ट्रियसभाका एकतिहाइ सदस्यको समय सकिने भएपछि मतदान भएको हो ।