काठमाडौं । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत कर्णाली प्रदेशमा मतदान सकिएको छ । बिहान ९ बजेबाट सुरु भएको मतदान भर्खरै सम्पन्न भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कर्णालीमा स्थानीय तह र प्रदेश गरेर १९६ जना मतदान छन् । प्रदेशसभाका ४० तथा स्थानीय तहका १५६ मतदाताले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लक्षमन गुरुङको एक वर्षअगाडि मृत्यु भएको थियो भने जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख सरिता सिंहको कात्तिक १७ गते भूकम्पका कारण मृत्यु भएको थियो । उनीहरू दुवैजना नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।
कर्णालीको तीन सिटका लागि भएको निर्वाचनमा सत्ता गठबन्धनबाट ३ र नेकपा एमालेबाट तीन गरी कूल ६ जना उम्मेदवार रहेका छन् । मतदान सकिएसँगै मतपेटिका संकलनको काम सुरु हुनेछ । मतपरीणाम आजै आउने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।