काठमाडौं । नेकपा एमालेले ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ का क्रममा जनताबाट कुल ७५१ वटा विकास आयोजनासम्बन्धी मागहरु प्राप्त भएको जनाएको छ । मंगलबार अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री प्रचण्डलाई बालुवाटारमा भेट गरी ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ का क्रममा जनताबाट प्राप्त माग, ज्ञापन र सुझावहरु एवं पार्टीले अभियानका क्रममा देखेका पहाडी क्षेत्रका विकासका सम्भावना र चुनौतीहरु समेटेर ध्यानाकर्षण–पत्र बुझाएका हुन् ।
उक्त ध्यानाकर्षणत्रमा विकास निर्माणसम्बन्धी जनताका ७५१ वटा मागहरु प्राप्त भएका र जुन विभिन्न ४६ क्षेत्रसँग सम्बन्धित रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । प्रदेशगत रुपमा गण्डकीबाट ५९ निवेदनहरुबाट १६१ वटा विषयहरु, कोशीबाट ४८ निवेदनहरुमार्फत् १७० वटा विषयहरु, सुदूरपश्चिमबाट २४ निवेदनहरुमार्फत् १३५ मागहरु, बागमतीबाट ३४ निवेदनहरुमार्फत् ११३ वटा मागहरु, कर्णालीबाट २८ निवेदनमार्फत् ८९ मागहरु समेटिएका छन् ।
यसैगरी लुम्बिनीबाट १० निवेदनमार्फत् ७५ मागहरु र मधेश प्रदेशबाट ८ वटा मागहरु समावेश गरिएको छ ।