काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार बैंकिङ प्रणालीमार्फत आज ३० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । बैैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता थुप्रियसँगै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत ३० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको हो । यस्तै अघिल्लो हप्ता केन्द्रीय बैंकले ५० अर्ब तरलता प्रशोचन गरेको थियो ।
माघ २ गतेको पछिल्लो रिपोर्ट अनुसार बैंक तथा वित्तीय संस्थाहरुले संकलन गरेको निक्षेपको आकार ६१ खर्ब २१ अर्ब रुपैयाँ रहेको छ । तर सो अवधिमा यता कर्जा लगानी भने ५० खर्ब ७४ अर्ब रुपैयाँ हारहारी मात्र देखिन्छ ।
बैंक ब्याजदर, अन्तर बैंक ब्याजदर र ट्रेजरी बिलको ब्याजदर समेत साढे ३ प्रतिशत हारहारीमा झरिसकेको बेला बैंकहरुले कर्जा/निक्षेप अनुपात (सीडी रेसिया) ८०.३९ प्रतिशत मात्र कायम गरेका छन् । यसो हुँदा हाल बैंकहरुसँग ६ खर्बमाथि लगानी योग्य पुँजी (तरलता) रहेको बुझिएको छ ।
जसले गर्दा पनि केन्द्रीय बैंकले पछिल्ला दिनहरुमा रिभर्स रिपो अर्थात् निक्षेप संकलन उपकरणमार्फत लगातार बैंकिङ प्रणालीमार्फत तरलता प्रशोचन गरिरहेको छ ।