काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहालले राम्रो काम गर्न नसके बालुवाटारबाट खुमलटार पुर्याउने चेतावनी दिएका छन्।
शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री दाहालले सरकारमा रहेर राम्रा काम गर्न नसके बालुवाटारबाट खुमलटार पठाउने हैसियत कांग्रेसको रहेको बताएका हुन्।
उनले कांग्रेसले चाहेर नै दाहाललाई प्रधानमन्त्री बनाइएको भन्दै कांग्रेसले नचाहेको दिन प्रधानमन्त्री रहिरहन नसक्ने बताए। उनले कांग्रेस नभए देश गृहयुद्धमा फस्ने दाबी गरे। उनले बालकुमारीमा बिहीबार भएको घटनाप्रति दुःख व्यक्त गरे।
उनले भने, ‘प्रचण्डलाई हामीले प्रधानमन्त्री बनाएको हो, हामीले जुन दिन चाहँदैनौँ नि प्रचण्डले राम्रो काम गर्न सक्नुभएन भने खुमलटारबाट बालुवाटार ल्याउने हैसियत कांग्रेसको छ भने बालुवाटारबाट खुमलटार पठाउने हैसियत पनि कांग्रेसको छ। आजको समस्याको चर्चा जुन भयो, त्यसको सम्बोधन कसले गर्ने त ? आजको सबैभन्दा ठूलो नेपालको मुद्दा रोजगारीको हो। बालकुमारीमा जुन घटना भाये त्यो दुःखद् घटना हो।’
महामन्त्री थापाले पार्टी सभापतिको गोजीबाट राष्ट्रिय सभा सदस्य छान्ने परिपाटी अन्त्य गर्नुपर्ने बताए।