काठमाडौं । बालकुमारीमा दुई जनाको ज्यान जानेगरी घटना भएपछी सरकारले ललितपुरमा कार्यरत अधिकारीको जिम्मेवारी व्यापक हेरफेर गरेको छ।
शनिबार बिहान प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहितको छलफलले भीड नियन्त्रण गर्न नसकेको भन्दै ललितपुरका सीडीओसहित प्रहरी अधिकारीको जिम्मेवारीमा हेरफेर गर्ने निर्णय भएको हो।
यसबारे औपचारिक निर्णय लिनका लागि अहिले सिंहदरबारमा आकस्मिक मन्त्रिपरिषद् बैठक बस्दैछ । मन्त्रिपरिषद् बैठकअघि काठमाडौँमै आयोजित एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निलम्बन गरिएकोबारे बताएका छन्।
‘हामीले यो ईपीएस अफिसबाट केही कमजोरी भएको महशुस गरेर उहाँलाई त्यहाँबाट हटाइएको छ। अर्को हाम्रो मन्त्रीजीको पिएसओले परिस्थितिको राम्रो आकंलन नगरीकन त्यो गाडी लिएर जाने प्रक्रियामा गम्भिर त्रुटी भएको महशुस गरेर उहाँलाई निलम्वन गर्ने निर्णय गरिएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘अनि, त्यसैगरी गोली चलाउन आदेश दिनेमा पनि त्रुटीपूर्ण ठानेर गोली चलाउन आदेश दिने अधिकारीलाई पनि छानविनको रिर्पोट नआउँदासम्म निलम्बन गरिएको छ।’
जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्र पण्डितलाई गृहमन्त्रालय तान्ने निर्णय भएको छ। यस्तै, ललितपुरका प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालय तान्ने तयारी छ।
फिल्ममा खटिएका सातदोबाटोका डीएसपी उमेश लम्साल र मन्त्री प्रकाश ज्वालाका पिएसओ बोधराज दनुवारलाई निलम्बन गर्ने तयारी छ । यसैगरी ईपीएस शाखाका प्रमुखलाई हटाउने तयारी छ।