संगम घर्तीमगर, बागलुङ । राष्ट्रपति रामचन्द्र पौडेलले बागलुङ कारागारमा जेल जीवन बिताउँदाका सहयात्रीहरूलाई सम्झे र आफूलाई आफ्नै घर आए जस्तो भएको बताए। राष्ट्रपति पौडेल पञ्चायत विरुद्धको आन्दोलनको तयारीका क्रममा २०४६ साल मंसिरमा बागलुङ आएका बखत उनी यही पक्राउ परे र लामो समय यहाँको कारागारमा बन्दी जीवन बिताएका थिए।
प्रजातन्त्र प्राप्तिको आन्दोलनका क्रममा चार महिना भन्दा बढी बागलुङ कारागारमा राजबन्दी बनेर बसेका उनले त्यसपछि बागलुङलाई आफ्नो जन्म जिल्लापछि दोस्रो गृह जिल्लाको रुपमा लिन थालेका हुन्।
२०४६ साल मंसिर २५ गते पौडेल बागलुङ आएका थिए। त्यति बेल पौडेल नेपाली काँग्रेसका केन्द्रीय सदस्य थिए। नेपाल विद्यार्थी संघका तत्कालीन जिल्ला सभापति जगदीशचन्द्र उपाध्यायको बागलुङ नगरपालिकास्थित घरमा त्यस बखत नेपाली काँग्रेसको भेला गरिएको थियो ।
काँग्रेसले पञ्चायती विरोधी आन्दोलनको तयारीको रुपमा भेला गरेका थाहा पाएपछि तत्कालीन पञ्चायतका शासक सलबलाउन थाले । भोलीपल्ट पौडेल म्याग्दी जाने कार्यक्रम तय भएको थियो। तर पञ्चायती शासनकालका प्रमुख जिल्ला अधिकारी र पञ्चायत पक्षधरले म्याग्दी जान दिएनन्।
बागलुङमा भेला गरेको थाहा पाएपछि तत्कालीन प्रशासनले जुनसुकै बेला पक्राउ गर्न सक्ने भन्ने जानकारी पाएपछि तत्कालीन नेविसंघ जिल्ला सभापति जगदीशचन्द्र उपाध्यायले पौडेललाई पर्वत फलेवासको बाटो हुँदै भगाउने प्रयास गरेका थिए। उपाध्याय बागलुङ फर्किने क्रममा पक्राउ परे। त्यसपछि पर्वत फलेवास पुगेका काँग्रेस नेता रामचन्द्र पौडेल सहित अन्य नेताहरुलाई समेत पक्राउ ग¥यो।
२०४६ सालको पुस १ गते नेता पौडेललाई पनि बागलुङ कारागारमा ल्याइयो। राजकाज मुद्दामा त्यति बेला बागलुङका तत्कालीन पार्टी सभापति गोविन्दप्रसाद शर्मा कँडेल, रघुपति कँडेल, शेखर कँडेल, ऋषिराम कँडेल विष्णु गिरी र नेविसंघका केन्द्रीय उपसभापति लक्ष्मी आचार्य सहित २० जनालाई कारागार चलान गरिएको थियो। त्यति बेलाको घटना सम्झँदै नेपाली काँग्रेस बागलुङका नेता जगदीशचन्द्र उपाध्याय भन्छन्,‘काँग्रेस आन्दोलनको तयारीमा थियो, मंसिरबाटै धरपकड भएपनि आन्दोलनमा समस्या हुन्छ भनेर मैले पर्वतको पाङ, बागलुङको बलेवा, पर्वत फलेवास हुँदै नेताहरुलाई भगाउने प्रयास गरेको थिएँ, मलाई पक्रा गरिहल्यो, त्यसपछि रामचन्द्र दाइ सहित अन्य नेताहरुलाई पनि पक्राउ गरेर ल्यायो।’
त्यति बेला उनीहरुलाई राज्य विरुद्धको मुद्दा, राजकाज मुद्दा, संघ संस्था ऐन र शान्ति सुरक्षा भनेर चार÷चार वटा मुद्दा लगाएको थियो। उनीहरु बन्दी रहेकै बेला नेपालमा २०४६ सालको आन्दोलन भयो । तत्कालीन राजा वीरेन्द्रले २०४६ साल चैत २६ गते प्रजातन्त्र पुनस्थापनाको घोषणा गरे। प्रजातन्त्र पुनस्थापना भएपछि अन्य बन्दीहरू तत्कालै छुटे। नेता रामचन्द्र पौडेल, तत्कालीन पार्टी सभापति गोविन्द कँडेल, तत्कालीन नेविसंघ सभापति जगदीशचन्द्र उपाध्याय र नेविसंघ केन्द्रीय उपसभापति लक्ष्मी आचार्यलाई रिहाइका लागि सबै प्रक्रिया पूरा गर्दा २०४७ साल वैशाख २ गते मात्रै रिहा भए।
‘केही साथीहरू माघमा धरौटीमा छुटे, रामचन्द्र दाइ, म, गोविन्द कँडेल र लक्ष्मी आचार्यलाई चार वटा मुद्दा लागेको थियो, हामीलाई छुट्न समय लाग्यो, जनआन्दोलनको क्रममा पक्राउ परेका नवराज पौडेल मणिभद्र चालिसेहरू चैत २७ मै छुटे,’ नेता उपाध्याय भन्छन्। राजनीतिक जीवनको महत्त्वपूर्ण समय बागलुङमा बिताएका कारण राष्ट्रपति पौडेलले तनहुँपछि दोस्रो गृह जिल्ला बागलुङ मान्ने गरेको नेता उपाध्याय बताउँछन्। पौडेल देशकै सर्वोच्च पद राष्ट्रपतिमा पुगेपछि त्यसबाट बागलुङले पनि केही न केही लाभ लिन सक्ने नेता उपाध्यायको विश्वास छ।
‘हुन त राष्ट्रपति पद सेरमोनियल पद हो, यति हुँदा पनि बागलुङले प्रशस्त आशा गर्ने ठाउँहरू छन्, उहाँको राजनीतिक जीवनको सबैभन्दा सफल यात्रा बागलुङबाट भयो, लोकतन्त्र प्राप्त गरेर बागलुङबाट जेलमुक्त हुनुभो,’ उनले भने, ‘त्यसपछि उहाँले बागलुङलाई माया पनि गर्नुभयो, अहिलेको मध्य पहाडी लोकमार्ग तत्कालीन बागलुङ बुर्तिबाङ सडक खण्ड र बागलुङ कुस्मीसेरा सडक खण्ड उहाँले पहिलो पटक स्थानीय विकास मन्त्री भएको बेला हाल्दिनुभएको योजना थियो। उहाँले भन्ने पनि गर्नुहुन्थ्यो, मेरा जन्मघर तनहुँ र मेरो दोस्रो घर बागलुङ हो। यहाँको विकास निर्माण लगायत विषयमा सहजीकरणका लागि बागलुङले उहाँबाट आशा गर्नु स्वभाविक पनि हुन्छ।’
पौडेल बागलुङ कारागारमा रहँदा बाहिरबाट उनलाई सघाउने व्यक्ति थिए बिहुँका दिलप्रसाद सापकोटा। उनी त्यति बेला बागलुङमा दूध विक्री गर्न आउँथे। काँग्रेस नेता जगदीशन्द्र उपाध्यायको घरमा उनले नेता पौडेललाई भेटेका थिए। त्यसपछि पौडेल जेलमा रहँदा सापकोटाले सूचना आदान प्रदानमा सहयोग पु¥याउने काम गरे। उनले पौडेलले सापकोटा बाजे भनेर सम्बोधन गर्ने गर्थे।