काठमाडौं । सभामुख देवप्रसाद घिमिरेले राष्ट्रिय सभाका अध्यक्षको परामर्शमा प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेयलाई महासचिवको काम गर्न तोकेका छन् ।
प्रशासनिक नेतृत्व नहुँदा सङ्घीय संसद् दिवसका सन्दर्भमा गर्नुपर्ने कतिपय काममा प्रभाव परेको, लोक सेवाबाट सिफारिस भएर आएका कर्मचारीको नियुक्तिलगायतमा प्रभाव परेका कारण सभामुखले कार्यवाहक तोक्नुभएको हो । सभामुखले महासचिव नियुक्तिमा भएका ढिलाइ वा चासोबारे राष्ट्रपतिसँग संवाद गर्न चाहे पनि सम्भव नभएको सभामुखको सचिवालयले जनाएको छ ।
सोमवार सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले राजीनामा दिएपछि पाण्डेयलाई राष्ट्रपतिसमक्ष नियुक्तिका लागि सिफारिस गरिएको थियो ।