बैतडी । मंगलबार ५६ वर्षीया वृद्धाको बिभत्स हत्या भएको छ। जिल्लाको सुर्नया गाउँपालिका–३ बिजुल गाउँकी हरिना बिष्टको हत्या भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए।
मंगलबार बेलुका ५ बजेतिर घरमा कोही नभएका वेला सोही ठाउँका २९ वर्षीय तेजबहादुर चन्दले हरिनाको हत्या गरेका हुन्। फलामको रड प्रयोग गरेर तेजले हरिनाको हत्या गरेका बताइएको छ। यस्तै तेजले गोठमा रहेका २ वटा बाख्रा पनि मारेको प्रहरीले जनाएको छ।
घटनापश्चात् बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक दीपक गिरी नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ।
हत्यामा संलग्न तेजलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।