बागलुङ । ढोरपाटनमा चोरी सिकार रोक्न सिकार आरक्षआसपासका चार जिल्लाले संयुक्त कारबाही चलाउने भएका छन् । बागलुङसहित आरक्षको प्रभाव क्षेत्रका चार जिल्लाका सुरक्षा प्रमुख सहभागी ‘वन्यजन्तु अपराध नियन्त्रण समन्वय बैठक’ले चोरी सिकारलाई शून्यनजिक बनाउने निर्णय गरेका हुन् ।
बागलुङसहित रुकुम पूर्व, म्याग्दी र रोल्पाका प्रमुखहरूको बैठकले अपराध नियन्त्रणमा संयुक्त प्रयास थाल्ने निर्णय गरेका हुन् । मंगलबार र बुधबार ढोरपाटनमा बसेको बैठकले चोरी सिकार नियन्त्रणमा आफ्नो जिल्लाबाट अपराधी पक्राउ गर्न मद्दत गर्ने सहमति गरेका छन् ।
आरक्षको प्रभाव क्षेत्रका जिल्लामा पुगेर चोरीसिकार गर्नेहरू लुक्ने भएकाले अपराध नियन्त्रणमा चारवटै जिल्लाका सुरक्षा निकायले संयुक्त रूपमा पहलले मात्र सफल हुने बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले बताए । बागलुङका प्रजिअ खगेन्द्रप्रसाद रिजाल, म्याग्दीका प्रजिअ तुलसीराम पौडेल, रुकुमका प्रजिअ माधवप्रसाद शर्मा र रोल्पाका प्रजिअ परमानन्द घिमिरेसहित प्रहरी र अन्य सुरक्षा प्रमुख समेतले अपराध नियन्त्रणमा साझा प्रतिबद्धता जनाएका हुन् ।
गत असारयता ढोरपाटनमा एक दर्जन अवैध हतियार बरामद भएका छन् । २१ जना चोरीमा संलग्न सिकारी पक्राउ परेका छन् । लोपोन्मुख रेड पाण्डासहितका जनावर मृत भेटिएको, नाउरका सिंङ, हाडछालालगायत पासो बनाउने सयौं सामग्री बरामद भएका छन् ।
‘आरक्ष तीन जिल्लामा फैलिएको छ, एक ठाउँमा अपराध गरेर अर्को ठाउँमा लुक्ने प्रवृत्ति पनि देखियो’ सहायक प्रजिअ बरालले भने, ‘उनीहरू उम्कन नपाउन् भनेर समन्वय बैठकबाट यो निर्णय गरिएको हो ।’ बैठकले ढोरपाटनको समग्र सुरक्षा चासोमा समीक्षा गरेको थियो । प्राकृतिक सम्पदाको सुरक्षा, वातावरणमा प्रभाव पार्ने अन्य सामग्री उत्खनन्मा नियमन गर्ने तथा सालझण्डी–ढोरपाटन सडक निर्माणमा पनि निर्माण कम्पनीलाई ध्यानाकर्षण गराइएको थियो ।