काठमाडौं । स्थानीय बजारमा बुधबार सुनको मूल्य बढेर प्रतितोला एक लाख १९ हजार तीन सय रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा परेको हो ।
मङ्गलबार प्रतितोला एक लाख १७ हजार सात सय रुपियाँ रहेको सुनको मूल्य बुधबार तोलामा एक हजार छ सय रुपियाँले बढेर एक लाख १९ हजार तीन रुपैयाँमा कारोबार भएको नेपाल सुुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार साताको पहिलो दिन आइतबार प्रतितोला एक लाख १६ हजार नौ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार बढेर प्रतितोला एक लाख १७ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
मङ्सिर महिना सुरु भएदेखि बजारमा सुनको मूल्य निरन्तर उकालो लाग्दै आएको छ । सन् २०२४ मा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस दुई हजार एक सय डलर पुग्ने अनुमान गरेकाले त्यतिबेला सुनको मूल्य प्रतितोला एक लाख २२ हजारदेखि एक लाख २५ हजारसम्म पुग्ने अनुमान गरिएको खबर गोरखापत्रमा छापिएको छ ।