विश्वविद्यालयहरूले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने जनशक्तिको उत्पादनमा ध्यान दिनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयहरूले राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने उच्चस्तरीय जनशक्तिको उत्पादनमा विशेष ध्यान दिनुपर्ने बताएका छन् । आइतबार पूर्वाञ्चल विश्वविद्यालय सभाको ३७ औँ सभा–बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले पूर्वाञ्चल विश्वविद्यालयले राष्ट्रको आवश्यकता एवं अन्तर्राष्ट्रियस्तरको दक्ष जनशक्तिको उत्पादनका लागि ध्यानकेन्द्रित गरेको जानकारी पाउँदा खुशी लागेको बताए । उनले भने, ‘पूर्वाञ्चल विश्वविद्यालयले विज्ञान तथा प्रविधि, इञ्जिनियरिङ, व्यवस्थापन, चिकित्साशास्त्र, शिक्षाशास्त्र र कानुनको क्षेत्रमा राष्ट्रको आवश्यकता एवं अन्तर्राष्ट्रियस्तरको दक्ष जनशक्तिको उत्पादनका लागि ध्यानकेन्द्रित गरेको जानकारी पाउँदा खुशी लागेको छ।’

विश्वविद्यालयहरूले आफ्ना पाठ्यक्रममा दीगो विकास, वातावरण संरक्षण, गहन अनुसन्धान र नवप्रवर्तनलाई उच्च प्राथमिकतामा राखेर व्यवहारिक, जीवनोपयोगी र गुणस्तरीय शिक्षामा जोड दिनु आवश्यक रहेको बताउँदै उनले प्रविधिको तीव्र विकास र विस्तारले दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सम्भव भएको बताए ।

प्रधानमन्त्रीको सम्बोधन :

पूर्वाञ्चल विश्वविद्यालयका सहकुलपति तथा माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीज्यू,
पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपतिज्यू,
रजिष्ट्रारज्यू,
विद्वान् सभासद्ज्यूहरू,
सञ्चारकर्मी मित्रहरू,
उपस्थित सम्पूर्ण महानुभावहरू।

पूर्वाञ्चल विश्वविद्यालय सभाको सैँतीसौँ सभा–बैठकमा कुलपतिको हैसियतले सहभागी हुन पाउँदा मलाई खुसी लागेको छ। यस विश्वविद्यालयले स्थापनाको झन्डै तीन दशकको अवधिमा उल्लेख्य उपलब्धि हासिल गर्न सफल भएकोमा हार्दिक बधाइ ज्ञापन गर्दछु। यस अवसरमा पूर्वाञ्चल विश्वविद्यालय स्थापनाका लागि योगदान पुर्‍याउने र यसको प्राज्ञिक उन्नयन र विकासमा सहयोग प्रदान गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दछु। आगामी दिनमा उच्च शिक्षाको गुणस्तर कायम गर्दै विश्वविद्यालयको संस्थागत सुधारका लागि समर्पित हुन सबैलाई प्रेरणा र उत्साह प्राप्त हुने विश्वाससमेत व्यक्त गर्दछु।

विश्वविद्यालयका उपकुलपतिज्यूले आज प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८०।०८१ को नीति तथा कार्यक्रम एवं रजिष्ट्रारज्यूबाट प्रस्तुत बजेटले विश्वविद्यालयको समग्र शैक्षिक–भौतिक प्रगतिका साथै विकास र विस्तारमा समेत सघाउ पुग्ने विश्वास लिएको छु। उपकुलपतिज्यूले नीति तथा कार्यक्रममार्फत् उठाउनुभएका विषयहरूमा सहकुलपति तथा माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीज्यूसँगको परामर्श र समन्वयमा अगाडि बढाई कार्यान्वयनमा सहयोग पुर्‍याउने प्रतिवद्धतासमेत व्यक्त गर्दछु।

विश्वविद्यालयहरूले राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने उच्चस्तरीय जनशक्तिको उत्पादनमा विशेष ध्यान दिनुपर्छ। पूर्वाञ्चल विश्वविद्यालयले विज्ञान तथा प्रविधि, इञ्जिनियरिङ, व्यवस्थापन, चिकित्साशास्त्र, शिक्षाशास्त्र र कानुनको क्षेत्रमा राष्ट्रको आवश्यकता एवं अन्तर्राष्ट्रियस्तरको दक्ष जनशक्तिको उत्पादनका लागि ध्यानकेन्द्रित गरेको जानकारी पाउँदा खुशी लागेको छ। देशमा क्रियाशील सबै विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरूले बदलिँदो परिवेशअनुरूप अध्ययन, अध्यापन र अनुसन्धानको दायरालाई ब्यापक बनाई पृथ्वी र मानव जातिमाथि आइपर्न सक्ने तमाम् चुनौती र समस्याहरूको समाधानका लागि सोच्नुपर्दछ।

खासगरी २१औँ शताब्दीको आवश्यकता परिपूर्ति र वैकल्पिक साधन–स्रोतहरूको खोजीका लागि विश्वविद्यालयलाई समुदायस्तरमा विस्तार गर्नु आवश्यक छ। यस सन्दर्भमा समुदायस्तरमा पहुँच विस्तारका लागि विश्वविद्यालयले अघि सारेको नीति तथा कार्यक्रमको कार्यान्वयनमा देखा परेका बाधा–अड्चन, नीतिगत तथा कानुनी समस्याहरूको समाधान र ऐनको समयाकुल परिमार्जन र संशोधनका लागि समेत नेपाल सरकारबाट यथोचित सहयोग रहने विश्वास दिलाउन चाहन्छु।

अन्त्यमा पूर्वाञ्चल विश्वविद्यालयले यस सैँतीसौँ सभाले गरेका निर्णयहरूको रचनात्मक र दृढ कार्यान्वयनको निर्देशनसहित सभा बिसर्जन गर्दछु। धन्यवाद।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित