एजेन्सी । हमास लडाकूहरूले प्यालेस्टाइनी कैदीहरूको बदलामा शनिबार थप बन्धकहरू रिहा गर्ने तयारी गरेको अधिकारीहरूले बताएका छन्। सात हप्ताको युद्धपछि पीडित परिवारहरूलाई यसले केही आशा प्रदान गर्ने बताइएको छ।
प्रमुख मध्यस्थकर्ता कतारले रिहा हुने कैदी र बन्धकहरूको संख्या शनिबार घोषणा गर्ने अपेक्षा गरिएको एएफपीले उल्लेख गरेको छ। चार दिनको युद्धविराम लागू भएपछि शुक्रबार दोस्रो पटक दुवै पक्षले कैदी र बन्धकहरु रिहा गरेका थिए।
इजरायली अधिकारीहरूले रिहा हुन लागेका बन्धकहरूको सूची प्राप्त गरेको सूचना दिएका छन्। यद्यपि, उनीहरुले संख्या र यकिन समयबारे भने केही पनि खुलाएका छैनन्।
नेपाली विद्यार्थी विपिन जोशी पनि हमासको कब्जामा रहेको बताइएको छ। उनको अवस्थाबारे हालसम्म कुनै यकिन जानकारी आएको छैन।
शुक्रबार परराष्ट्रमन्त्री एनपी साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अलमुखैरीसँग हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका छन्।
शुक्रबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा साउदले कञ्चनपुरका जोशीलाई हमासको नियन्त्रणबाट रिहाइका लागि पहल गरिदिन आग्रह गरेका हुन्। कतारको इजरायल र हमास दुवैसँग राम्रो सम्बन्ध भएका नाताले नेपालले सुरुदेखि नै जोशीको रिहाइका लागि पहल गर्न कूटनीतिक लबिङ नै गरिरहेको छ।
जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाइका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिए। भेटका क्रममा परराष्ट्रमन्त्री साउदले गाजामा युद्ध विराम र हमासले बन्धक बनाएका नागरिकको रिहाइका लागि कतार सरकारले निर्वाह गरेको मध्यस्थकर्ताको भूमिकाको प्रशंसा गरेका थिए।
इजरायलको जेल सेवाले शनिबार ४२ कैदीलाई रिहा गर्नको लागि तयारी गरिरहेको बताएको एपीले रिपोर्ट गरेको छ। उसले हमासले १४ इजरायली बन्धकहरूलाई रिहा गर्न सक्ने पनि अनुमान गरेको छ। यद्यपि यसबारे कुनै आधिकारिक जानकारी भने आएको छैन।
कतार तथा आधिकारिक इजरायली सूची अनुसार युद्धविरामको पहिलो दिन शुक्रबार हमासले २४ बन्धकहरूलाई रिहा गरेको थियो। जसमध्ये १३ इजरायली महिला र बालबालिका, १० जना थाई र १ फिलिपिनो नागरिक थिए।
हमासले जारी गरेको दुई मिनेट लामो भिडियोमा मास्क लगाएका राइफलसहितका लडाकूहरूले बन्धक बनाइएकाहरूलाई रेडक्रसका अधिकारीहरूसमक्ष बुझाएको देख्न सकिन्थ्यो।
त्यसको बदलामा इजरायलले आफ्नो जेलबाट ३९ जना महिला र बालबालिकालाई रिहा गरेको थियो।
त्यसलगत्तै, अमेरिकी राष्ट्रपति जो बाइडेनले मासाचुसेट्समा पत्रकारहरूलाई भने( यो केवल एक सुरुवातमात्रै हो, तर हालसम्म राम्रो भएको छ।