काठमाडौं । भारतबाट नेपाल भित्र्याइएका १५ वटा मुर्रा जातका राँगालाई पोखरा, लाहान र बाँकेका तीनवटा ठाउँमा राखिने पशु सेवा विभागले जनाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा दिल्लीले उपहार स्वरूप दिने भनिएका ‘मुर्रा’ राँगा करिब पाँच महिनापछि ७ मंसिरमा नेपालमा ल्याइएको हो।
राष्ट्रिय पशु प्रजनन कार्यालयमा राखिने विभागका प्रमुख पशु विकास अधिकृत डा. माधवप्रसाद अर्यालका अनुसार तीमध्ये सातवटा राँगालाई पोखरामा रहेको राष्ट्रिय पशु प्रजनन कार्यालयमा र पाँचवटालाई लाहान लगिँदैछ।
बाँकी तीनवटालाई बाँकेको खजुरास्थित गौघाटमा राखिएको अर्यालको भनाइ छ । भारतको पञ्जाबबाट राँगालाई स्थल मार्ग हुँदै जमुनाहा नाकाबाट नेपालगन्ज प्रवेश गराइएको थियो।
भारतको पन्जाबस्थित राष्ट्रिय भैँसी अनुसन्धान केन्द्रबाट ल्याइएको राँगाको क्वारन्टिन चेकजाँच गरेर शुक्रवार बिहानबाट नेपालका बाँकेबाहेकका अन्य दुई स्थानमा रहेका राष्ट्रिय पशु प्रजनन कार्यालयमा पठाइने पशु सेवा विभागले जनाएको छ।
उनीहरूको हेरचाहका लागि पशु चिकित्सकसहितको प्राविधिक टोली त्यहाँ खटिने डाक्टर अर्यालले बताए।