काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले शितल निवास, प्रधानमन्त्री निवास लगायत आसपास पनि निषेधित क्षेत्र घोषणा गरेको छ।
मंगलबार प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले एक सूचना जारी गर्दै राष्ट्रपति भवन शितल निवास, प्रधानमन्त्री निवास बालुवाटार, संसद भवन बानेश्वर, सिंहदरबार र हरित गृह उपराष्ट्रपति भवन आसपास निषेधित क्षेत्र घोषणा गरेका हुन्।
सोमबार मात्रै प्रमुख जिल्ला अधिकारी बस्नेतले काठमाडौंको माइतीघर मण्डलदेखि नयाँ बानेश्वर चोकसम्म ३० दिनका लागि निषेधित क्षेत्र तोकेका थिए।
मंसिर ७ गते नेकपा एमाले निकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले माइतीघर केन्द्रित प्रदर्शन गर्न लागेका थिए। तर शान्ति सुरक्षा कायम गर्न र दंगा भड्किन नदिन भन्दै माइतीघरमा निषेधित क्षेत्र घोषणा गरिएको हो।
त्यस्तै दुवै पक्षलाई छुट्टाछुट्टै स्थानमा कार्यक्रम गर्न ठाउँ तोकिएको छ। युवा संघले तीनकुनेमा र दुर्गा प्रसाईंले बल्खुमा कार्यक्रम गर्ने भएका छन्।
तर जिल्ला सुरक्षा समितिको सिफारिसको आधारमा मंगलबार प्रमुख जिल्ला अधिकारीले थप क्षेत्रमा निषेधित क्षेत्र तोकेका हुन्।
शितल निवासको पूर्व पवित्र वर्कशपसम्म, पश्चिममा सामाखुसी निस्किने नालासम्म, उत्तरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको दक्षिण पूर्वी गेटसम्म र दक्षिणमा प्रहरी अस्पताल जाने मोडसम्म निषेधित क्षेत्र तोकिएको छ।
प्रधानमन्त्री निवासको पवित्र वर्कशप चोकबाट बालुवाटारतर्फ नेपाल राष्ट्र बैंक चोकसम्म, सभामुख निवासदेखि गैरीधारा जाने बाटोको पश्चिम दक्षिण १०० मिटरसम्म, प्रधानन्यायाधीश निवासबाट लाजिम्पाट जाने १०० मिटर पश्चिमसम्म, राष्ट्र बैंक चोकबाट पूर्वतर्फ १०० मिटरसम्म र इटालीया चोकबाट ५० मिटर दक्षिणसम्म पनि निषेधित क्षेत्र तोकिएको छ।