जाजरकोट भूकम्प प्रभावितहरू क्षेत्रको पुनर्निर्माणका लागि नेकपा (एमाले)ले शुक्रबारदेखि एक हजार जना स्वयंसेवक परिचालन गर्ने बताएको छ।
केही दिनअघि बसेको पार्टी सचिवालयको बैठकले मंसिर १ गतेदेखि जाजरकोट भूकम्पको पुनर्निर्माणका एक करोड बराबरको श्रमदान हुने गरी एक हजार स्वयम्सेवक परिचालन गर्ने निर्णय गरेको थियो।
अस्थायी घररटहरा निर्माण गर्न एमाले पोलिटब्युरो सदस्य विनोद श्रेष्ठ नेतृत्वको एक सय सदस्यीय केन्द्रीय फोर्स प्रभावित क्षेत्र पुगिसकेको केन्द्रीय सदस्य नीरज आचार्यले जानकारी दिए।
पार्टी केन्द्रको निर्णयअनुसार भग्नावशेष हटाउन, अवरूद्ध बाटो पन्छाउन, शौचालय बनाउन, खुला आकाशमुनि बसेकाहरुका लागि अस्थायी टहरा निर्माण गर्ने कामका लागि जाजरकोट पुगेको स्वयंसेवक टिम आजबाट परिचालित हुने एमालेको मजदुर संगठनका अध्यक्षसमेत रहेका श्रेष्ठले बताए।
‘एमालेको एक सय सदस्यीय टोली प्रभावित क्षेत्र जाजरकोट आइपुगेको छ नेता श्रेष्ठले भने, ‘भूकम्प प्रभावित क्षेत्रको खोज, उद्धार र अस्थायी आवास निर्माणको काममास्वयंसेवकको टोलीले आजबाट भेरी नगरपालिका—३ माथिल्लो थाप्लेबाट काम सुरू गर्ने छ।’
पार्टी केन्द्रको निर्णय अनुसार १५ दिनसम्म स्वयंसेवकले भूकम्प प्रभावित क्षेत्रमा निरन्तर काम गर्ने उनले बताए।
एमालेले २३ वटा जनसंगठनबाट ४ सय, प्रदेश सम्पर्क कमिटीबाट एक सय, लुम्बिनी प्रदेशबाट २५०, कर्णाली १५०, कोशी र मधेश प्रदेशबाट २५/२५, गण्डकी, बाग्मती र सुदूरपश्चिम प्रदेशबाट ५०/५० र उपत्यका प्रदेशबाट २५ जना गरी एक हजार स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको छ।